काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आफ्नो विजयलाई नयाँ जिम्मेवारीको रूपमा लिएको बताएका छन् ।
सभापतिमा विजयी भएपछि सानेपास्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफूले जिम्मेवारी पाएको रूपमा लिएको बताउँदै आफूले पार्टीको काम गर्ने तरिका बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले कांग्रेस छोडेका र असन्तुष्ट रहेका सबैलाई फर्काउने बताउँदै आफूहरू इतिहासको ब्याज खान नआएको भन्दै आफूहरूले महाधिवेशनबाट विश्वास जितेर नयाँ इतिहास बनाउन आएको जिकिर गरे ।
सभापति थापाले भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति लिने भन्दै कुनै पनि नेता आफूसहित कुनै किसिमको अनियमिततामा मुछिएको पाइएमा त्यसको भारी पार्टीले नबोक्ने स्पष्ट गरे ।
उनले भने, ‘नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं, नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएका होइनौं, हामी इतिहासलाई रटेर मात्र पनि बस्दैनौं । हामी नयाँ इतिहास आफैं रच्छौं । नयाँ इतिहास रच्ने कुराको तागत लिएर हामी अधिवेशनबाट आएका छौं भनेर ती नौजवान साथीहरूका बीचमा जानेछौं ।’

सभापति थापाले आफूलाई सहयोग गरेका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई धन्यवाद दिँदै आफूहरूले कांग्रेसमा विगतमा नेताहरूले स्थापित गरेको झगडा गर्ने प्रवृत्तिलाई गगन–विश्वको सम्बन्धले पुनर्परिभाषित गर्ने बताए ।
