गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन् ।
गृहमन्त्रीको कार्यभार सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त बैठक (असोज २७ गते) मंगलबार नयाँदिल्लीमा सुरु हुँदैछ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गतको सुरक्षा संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो । उक्त संयन्त्रअन्तर्गत गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी हुनेछन् । बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा बिमस्टेक क्षेत्रमा देखिएका लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा चुनौती तथा साइबर अपराधजस्ता अन्तरदेशीय र क्षेत्रीय सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।
सदस्य राष्ट्रहरूबीच सुरक्षा सहकार्य थप प्रभावकारी बनाउने, विभिन्न सुरक्षा संयन्त्रमा भएका छलफल तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत रहेको छ। गृहमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बिमस्टेक सदस्य राष्ट्रका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । बैठकमा सहभागी भएपछि उनी असोज २८ गते (बुधबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
