काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। उनले दसैँको खुसी विपद्मा परेका नागरिकसँग पनि बाँड्न र उनीहरूको जीवन सामान्य बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा रहेको दसैँले सबैलाई सत्य र न्यायको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
यस वर्ष प्राकृतिक विपत्ति तथा बाढीपहिरोका कारण धेरै नागरिकको दसैँ प्रभावित भएको उल्लेख गर्दै उनले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य परिवारप्रति सहयोग र सहानुभूति देखाउनुपर्ने बताएका छन्। विपद् प्रभावितको पीडा कम गर्न र उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन राज्य तथा नागरिक सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने उनको भनाइ छ।
रेग्मीले विपद् प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, आफ्नो क्षमताअनुसार पीडितलाई सहयोग गर्न पनि उनले सबैमा आह्वान गरेका छन्।
प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रका कारण मुलुक कठिन परिस्थितिमा रहेको बेला देशलाई थप अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिनु चिन्ताजनक भएको उनले बताएका छन्। यस्तो अवस्थाबाट मुलुकलाई जोगाउन संविधान, कानुनी शासन र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

जनताको मतबाट निर्माण भएको संविधान र कानुनी शासन नै देशको बलियो आधार भएको उल्लेख गर्दै रेग्मीले संविधानमा सुधार आवश्यक भए संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका छन्। असहमति तथा विवादको समाधान संवाद, संयम र कानुनी व्यवस्थाभित्रै खोजिनुपर्ने उनको धारणा छ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली युवाको श्रम र योगदानले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले स्वदेशमै सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

युवाको क्षमता र ऊर्जाको सदुपयोग, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन तथा निष्पक्ष न्याय प्रणालीलाई समृद्ध नेपालको आधारका रूपमा व्याख्या गर्दै रेग्मीले मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

उनले तडकभडक नगरी शान्त र सौम्य रूपमा दसैँ मनाउन पनि आग्रह गरेका छन्। दसैँले नेपाली समाजमा आपसी सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउँदै देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउने शक्ति प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्।