काठमाडौं, भदौ ३० – १ लाख रुपैयाँको कोरोना बीमा गरेकालाई दाबी भुक्तानी भने २५ हजार रुपैयाँ मात्रै दिइने बीमा समितिले निर्णय गरेको छ ।
व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने भएका हुन् ।
बीमा समितिका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन्।
भदौ २९ गते सोमबारदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो।
संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल पनि भुक्तानी नहुने समितिले जनाएको छ।
भदौ २८ अघि जारी गरिएका बीमा हकमा भने पूरानै व्यवस्था लागू हुनेछ। अर्थात सो मितिअघि बीमा गरेकालाई पिसिआर पोजेटिभपछि पूर्ण रकम (१ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ।
बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन्।
१३ लाखभन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएको छ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाको पिसिआर परीक्षण रिपोर्टलाई पनि मान्यता दिइने भएको छ।
कोरोना बीमाको भुक्तानीका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको ७ दिनभित्रमा भुक्तानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
FACEBOOK COMMENTS