काठमाडौं, असोज ३ – पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो । उनको शुक्रबार बेलुकी स्वाबको नतिजा पोजिटिभ आएको अस्पतालका निर्देशक डा।राजु शाक्यले बताए । तीन दिनअघि उपचार गर्न अस्पताल आए पनि भर्ना गर्नुपर्ने बिरामीलाई आफन्तले भर्ना नगरिकन जबरजस्ती घर लगेका थिए ।व्यथाले च्यापेपछि पुनस् शुक्रबार अस्पतालमा ल्याएको डा. शाक्यले बताए ।
‘हामीले यही भर्ना गरेर उपचार गर्नुपर्छ भन्दाभन्दै घर लगेका थिए,’ उनले भने, ‘हामीले शंका लागेर स्वाब पठायौं । अहिले पोजिटिभ आएपछि अस्पतालमै स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।’लुम्बिनी मेडिकल कलेजमा ३ डाक्टरसहित ११ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणबाट यसअघि पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।
पूर्वखोला गाउ‘पालिका, सिलुवाका ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका, पिपलडॉडाकी ३० वर्षीय महिला र तानसेन नगरपालिका, टिन्टीऑपका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।
FACEBOOK COMMENTS