काठमाडौं, असोज ४ – केही समयअघि निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले ‘महानयक’ राजेश हमालमाथि संकटका समयमा चलचित्र क्षेत्रलाई अभिभावकत्व नदिएको आरोप लगाइन् । त्यसवापत उनले निकै आलोचना पनि सहनुपर्यो ।
कोरोनलो गर्दा चलचित्र क्षेत्र ठप्प छ र यस क्षेत्रमा आवद्ध हजारौंको रोजिरोटी गुमेको छ । खासगरि दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । उनीहरुलाई हातमुख जोर्न समस्या भएपछि केही सेलिब्रिटीले व्यक्तिगत सहयोग गरे । तर, महानायकको भने कतै उपस्थिति देखिएन ।
यसैबीच, हिजो राजेश हमालले चलचित्रका प्राविधिकहरुलाई नगद रकम सहयोग गरेको समाचार आएको छ । उनले एक सय १३ जना प्राविधिहरुलाई लाइन लगाएर ५–५ हजार रुपैयाँ बाँडेका थिए । हमालका समर्थकहरु खुशी भएका छन् । ढिलै भए पनि सहयोगको हात बढाएकोमा हमाल प्रशंशित बनेका छन् ।
तर, यसको यथार्थ अलि फरक छ । हमालले बाँडेको पैसा उनको आफ्नै होइन । देश–विदेशमा बस्ने नेपालीहरुबाट पैसा संकलन गरेर उनले वितरण मात्रै गरेका हुन् ।
स्रोतका अनुसार अमेरिका, क्यानाडा, दक्षिण कोरिया, पोर्चुगल र अष्ट्रेलियामा बस्ने नेपालीहरुले हमाललाई पैसा पठाएका थिए । यसमा हमालले आफ्नो तर्फबाट कति थपे वा थपेनन् भन्ने खुलेको छैन ।
२० वर्षसम्म नेपाली चलचित्रमा एकछत्र राज गरेका अभिनेता हुन् हमाल । उनले एक वर्षमा १ दर्जन फिल्म पनि खेल्न भ्याए । अहिलेसम्म तीन सयभन्दा बढी फिल्म खेलेका छन् । यस हिसाबले नेपाली चलचित्रलाई उनले यथेष्ट योगदान दिए भने चलचित्र क्षेत्रले पनि उनलाई आर्थिक रुपमा सम्पन्न बनायो । पछिल्लो समय पनि टेलिभिजन कार्यक्रम र स्टेज शोबाट उनको राम्रै आम्दानी छ ।
त्यसो त कसैले पैसा धेरै कमायो भन्दैमा समाजसेवामा खर्च गर्नैपर्छ भन्ने हुँदैन । समाजसेवा भनेको वाध्यकारी नभएर ऐच्छिक विषय हो । त्यसैले हमालले आफ्नो कमाइको हिस्सा समाजसेवामा खर्च गरेनन् भने पनि त्यसमा कसैले चित्त दुखाउनुको अर्थ हुन्न । तर, अरुको पैसा बाँडेर आफू समाजसेवी देखिने ढोंग गर्न चाहिँ हमाललाई सुहाउँदैनथ्यो, जुन उनले गरे ।
के साढे पाँच लाख रुपैयाँ वितरण गर्नका लागि हमालले विभिन्न विदेशमा दुख गरिरहेका नेपालीहरुलाई गुहार्नुपर्थ्यो ? यसअघि नायक पल शाहले पनि चलचित्र प्राविधिहरुलाई पाँच लाख रुपैयाँ सहयोग वितरण गरेका थिए । पलले बाँडेको पैसा उनको आफ्नो कमाइ थियो । हमालले चाहिँ किन आफैंले यति सहयोग गर्न सकेनन् ?
हमालका निकटवर्तिहरुका भनाइ के छ भने विदेशमा बस्ने केही नेपालीहरुले नेपालमा कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न स्वेच्छाले अभियान चलाएका हुन् । आफूहरुले जुटाएको पैसा उनीहरुले हमालको हातबाट वितरण गर्न चाहेका थिए ।
‘महानायकज्यूले आफैं पैसा देउ भनेर चन्दा आह्वान गर्नुभएको होइन,’ हमाल निकट स्रोतले भन्यो, ‘नेपालीहरु आफैंले पैसा जुटाएर उहाँको खातामा पठाइदिएका हुन् ।’
यति पैसा हमालले चलचित्र प्राविधिक संघलाई हस्तान्तरण गरेको भए पनि भइहाल्थ्यो । तर, उनले सबैलाई लाइन लगाएर आफैंले बाँड्नुले चाहिँ हमालको समाजसेवी देखिने आकांक्षा झल्किन्छ ।
रकम वितरण गर्ने कार्यक्रममा टाँगिएको ब्यानरमा लेखिएको थियो, ‘महानायक राजेश हमालद्वारा कोभिड १९ प्रभावितहरु चलचित्र प्राविधिकहरुलाई राहत वितरण कार्यक्रम ।’ यसले पनि हमालले आफ्नै पैसा बाँडेका हुन् भन्ने भान गराउँछ ।
प्राविधिकहरुलाई बाँडिएको रकमको परिमाण पनि लाजमर्दो छ । महानायकबाट पैसा पाउने भनेपछि प्राविधिकहरु खुशी भएर लामो लाइनमा बसे । हातमा पर्यो पाँचवटा हजारको नोट । ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार’ जस्तो महसुस भएको एक प्राविधिकले बताए ।
पछिल्लो समय विदेशमा बसेर मजुदुरी गरिरहेका नेपालीहरुबाट पैसा उठाएर नेपालमा समाजसेवा गर्नेहरु प्रशस्तै छन् । यस्ता ‘विचौलिया समाजसेवी’ को भिडमा महानायक राजेश हमाल पनि मिसिएको ती प्राविधिकको टिप्पणी छ ।
FACEBOOK COMMENTS