काठमाडौँ, आश्विन ६ – तिलागुफा–११ ठिन्केकी १९ वर्षीया सम्झना शाहीलाई बिहीबार बेलुकी ९ बजे सुत्केरी व्यथाले च्पापेपछि आफन्तले चिल्खाया स्वास्थ्यचौकी पुर्याए । चौकी पुर्याएको ३ घण्टामा पनि सुत्केरी हुन नसकेपछि राति अनमी तुलसी थापालाई खबर गरियो । उनले अवस्था जटिल भएको भन्दै जुम्ला लैजान आग्रह गरिन् । तर आर्थिक अवस्था कमजोर भएकाले परिवारले तत्काल बाहिर लैजान सकेन ।
भोलिपल्ट जुम्ला लैजाने क्रममा चिल्खाया–९ हुस्क्यामा बिहान ८ बजे प्रसूति व्यथाले शाही छटपटाइन् । अनमी थापा त्यहाँ पुग्दा नवजात शिशुको ज्यान गइसकेको थियो । भदौ २४ गते स्वास्थ्यचौकीमा परीक्षण गर्न जाँदा किशोरीलाई भिडियो एक्सरे गर्न आग्रह गरिए पनि अस्पताल टाँढा भएकाले सम्भव थिएन । ‘कात्तिक १ गतेको डेट दिइएको थियो,’ सम्झनाका पति नरेन्द्रले भने, ‘पैसाको जोहो गर्दागर्दै जटिल अवस्था आएर बच्चा गुमाउनुपर्यो ।’ उनका अनुसार अत्यधिक रक्तश्राव भएपछि र साल ननिस्किएपछि सुत्केरीलाई अहिले जिल्ला अस्पताल ल्याइएको छ ।
गत असोजमा पनि बच्चा जन्माउन नसक्दा १८ वर्षीया किशोरीको ज्यान गएको थियो भने फागुनमा अर्की किशोरीले गर्भवती अवस्थामै ज्यान गुमाएकी थिइन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी टाढा हुँदा गर्भवती महिलाले अकालमै ज्यान गुमाउने गरेको खाडाचक्र नगरपालिकाकी अनमी यमुना शाहीले बताइन् । ‘न सडक छ, न गाउँका स्वास्थ्यचौकीमा पर्याप्त पूर्वाधार,’ उनले भनिन्, ‘सामान्य अवस्थाका गर्भवतीलाई पनि अस्पतालमा रिफर गर्नुको विकल्प छैन ।’ उनका अनुसार भौतिक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण नहुँदा गाउँमा प्रसूति सेवा दिन समस्या भएको हो ।
स्वास्थ्यचौकी टाढा हुँदा अधिकांश महिला घरमै असुरक्षित सुत्केरी हुने गरेको स्थानीय अगुवा जवानसिंह सुनारले बताए । ‘लामो समयसम्म बच्चा जन्मिएन भने मात्रै स्वास्थ्य संस्था लैजाने चलन छ,’ उनले भने, ‘केही महिलाले त बाटोमै शिशुलाई जन्म दिने गरेका छन् ।’ गाउँमा महिला स्वास्थ्य स्वयंसेविका नहुँदा पनि गर्भवती महिलाको ज्यान जोखिममा परिरहेको उनी बताउँछन् ।
५ महिनाअघि तिलागुफा–७ माथिबाडाकी २३ वर्षीया जनपुरा शाहीले सुत्केरी हुन जाने क्रममा बाटोमै बच्चा जन्माइन् । बाटोमा जन्मिएको बच्चा च्यापेर स्वास्थ्यचौकी पुग्दा यातायात खर्च पाएको उनले बताइन् । ‘व्यथाले च्यापेपछि मात्रै अस्पताल लैजाने चलन छ,’ उनले भनिन्, ‘केहीले त झारफुक र घरेलु औषधि गरेरै बच्चा जन्माउँछन् ।’ स्वास्थ्य संस्था टाढा हुँदा गाउँका महिलाहरु गर्भजाँच र खोपको सुविधाबाट वञ्चित रहेको उनको गुनासो छ ।
प्रसूति गृह टाढा हुँदा सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको बदालकोट, पोरिपाल्नी, बद्रिगाउँ, पिली र चौकीगाउँका महिलाहरु पनि घरमै बच्चा जन्माउन बाध्य छन् । स्थानीय सरकारले सबै वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरे पनि पूर्वाधार, औषधि, जनशक्ति र उपकरणको अभावका कारण आमा र शिशुको ज्यान जोखिममा परेको निमित्त स्वास्थ्य सेवा प्रमुख कटक महतले बताए । उनका अनुसार यातायात खर्चको लोभमा बाटोमै बच्चा जन्माएका महिलाले पनि स्वास्थ्यचौकी गएर नाम लेखाउने गरेकाले सरकारी रेकर्डमा अन्यत्र सुत्केरी भएकाहरुको विवरण भेटिँदैन । ‘सुविधा दिएपछि बाटोमा जन्मिएको पनि भन्न मिल्दैन,’ उनले भने, ‘ग्रामीण क्षेत्रका महिलालाई अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा लैजाँदा पनि आमा र बच्चा दुवैको ज्यान जोखिममा परिरहेको छ ।’
सरकारले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलालाई यातायात खर्चसहित पोसिलो पिठो र आयोडिनयुक्त नुन वितरण गरिरहेको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार गत वर्ष धौलागोह, फूकोट, स्युना, चिल्खाया र दाहाका ६ महिलाले सुत्केरी हुने क्रममा ज्यान गुमाएका थिए । कठिन भूगोलका कारण कालीकोटमा धेरैजसो गर्भवतीको मृत्यु बाटो र घरमा हुने गरेको कार्यालयले जनाएको छ ।
नरहरिनाथको साझपानी, माल्कोट, दुदुल्ली, उत्छव, भाटगाउँ, सान्नीत्रिवेणीको लुयाटा, पचालझरनाको खार्दु, बाझकोट, बोलुगाउँ, तिखाती, पलाताको थिर्पूलगायत गाउँ स्वास्थ्य संस्थाबाट टाढा छन् ।
त्यस्तै धौलागोहको पुलाहा, जाफे, शुभकालिकाको छाती, हाउडी, महाबैको गेला, तिलागुफाको ओखरभित्ता, रुरु र रताडामा पनि प्रसूति गृह छैनन् । खाडाचक्र नगरपालिकाको एक वर्षको तथ्यांकअनुसार २४ प्रतिशत महिलाले अझैं घरमै बच्चा जन्माउने गरेका छन् । मापदण्डअनुसार ४ पटक गर्भजाँच गराउने महिलाको संख्या ३२ प्रतिशत मात्र छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS