काठमाडौं, असोज ८ – कलङ्कीका संजोग श्रेष्ठ आइतबार बिहानै खुल्ला मञ्चस्थित पुरानो बसपार्क पुग्छन् । उनलाई काठमाडौंबाट दोलखा, चरिकोट जानु थियो । संजोगले टिकट काउण्टर वालालाई सोधे– दाई चरिकोट जाने गाडी छ ?
काउण्टरवालाले तत्कालै जवाफ फर्काए, ‘छ भाइ । कति बजेकोमा जानु हुन्छ ? एउटा अहिले भर्खरै ७ बजे गयो । अब अर्को गाडी साढे ८ बजेको छ । तर पहिलेको जस्तो छैन, १७ जना पुग्नेबित्तिकै हिँड्ने हो ।’ संजोगले सोधे, ‘चरिकोटसम्मको भाडाचाहिँ कति हो नि ?’
काउण्टरवालाले कोरोनाकालमा जारी सरकारी नियमको हवाला दिँदै भन्यो, ‘अहिले सरकारले नै तोकिदिएको ५० प्रतिशत थपसहित चरिकोटसम्मको भाडा ५४० रुपैयाँ हो । नियमअनुसार सिट क्षमताको तुलनामा ५० प्रतिशतमात्र यात्रु राख्न पाइन्छ । गाडीमा जम्माजम्मी १७ जना जतिमात्र हुन्छन्,’ काउण्टरवालाले भने ।
हुन पनि सरकारले तोकिदिएको सार्वजनिक यातायात सञ्चालनको नियम अनुसार एउटा गाडीमा ५० प्रतिशतमात्र यात्रु राख्न पाइन्छ । सोही नियम अनुसार काठमाडौं–चरिकोटको भाडामा ५० प्रतिशत थपसहित ५४० रुपैयाँको टिकट काटेर संजोग गाडी चढ्छन् ।
गाडी बसपार्क छाडेर भद्रकाली, माइतिघर, कोटेश्वर हुँदै चरिकोटतर्फ हुँइकिन्छ । तर जब गाडी कोटेश्वर पुग्छ, तब सह–चालक (खलासी)ले यात्रु डाक्न थाल्छन् । बनेपा..बनेपा.. धुलिखेल, खाडिचौर… चरिकोट..
यात्रुहरु तछाडमछाड गर्दै गाडी चढ्न आउँछन् । बसपार्कबाट सिटको हरेक लाइनमा एक–एक जना गरेर १७ जना यात्रु पनि नबोकी हुँइकिएको गाडीमा अब झण्डै ३० जना पुगिसकेका हुन्छन् । जतिजति गाडी अघि बढ्दै जान्छ, प्रत्येक स्टेशनमा सहचालकले भेटेजति सबै लोकल यात्रुहरु भर्दै जान्छन् । बसपार्कबाट १०–१२ जनामात्र यात्रु बोकेर लामो दुरीका लागि छुटेको गाडीमा अन्ततः साँच्चै दशैँतिहारको झल्को दिनेगरी भिडभाड हुन्छ । यात्रुहरु झुण्डिनु पर्ने अवस्था आउँछ ।
खाडिचौर वरको प्रहरी चेक पोष्ट नपुग्दै गाडी रोकिन्छ । चालक र सहचालकले यात्रुलाई भन्छन्, ‘ए ! ल झर्नुस् त । अगाडि चेक पोष्ट आयो ।’ सरकारले जारी गरेको नियममा ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने र लामो दुरीमा सञ्चालन हुने गाडीले डेस्टिनेशन टु डेस्टिनेशन(डीटूडी) प्रणालीमा गाडी सञ्चालन गर्नुपर्ने उल्लेख छ । नियम अनुसार गाडीले बीच बीचमा यात्रुहरु चढाउने र झार्ने गर्न पाउँदैनन् । यसैका लागि भनेर सरकारले यात्रुहरुसँग थप ५० प्रतिशत भाडा लिन पाउने गरी नियम बनाइदिएको हो । तर गाडीवालाहरुका लागि भने ५० प्रतिशत भाडावृद्धिको नियम फलिफाप भएको छ ।
सहचालकले थपे, ‘अगाडि चेकिङ्ग हुँदैछ । तपाईंहरु अलि परसम्म हिँडेर जानुस् । त्यहाँबाट चढ्नु होला ।’ झुण्डिएका यात्रुहरु प्रहरीकै अगाडि उक्त बसबाट झरेर चेकपोस्ट अघिल्तिर गएर बस्छन् । चेकपोस्ट पार परेर बस रोकिन्छ र फेरि सबै यात्रु चढ्छन् ।
अहिले लामो दुरीमा चल्ने अधिकांश सार्वजनिक यातायातको हविगत यस्तै छ, ती सवारी साधनमा यात्रा गर्ने यात्रुले यस्तै नियति झेल्नु परेको छ । यतिसम्म कि बाटोमै विपरीत दिशाबाट आउने गाडीले अर्को गाडीलाई कहाँ चेकिङ्ग हुँदैछ भनेर जानकारी दिन्छन् । यसरी यातायात व्यवसायी र यातायात मजदुरले सरकारद्वारा जारीे लामो दुरीको यातायात सञ्चालको नियम उल्लंघन भइरहेको छ ।
FACEBOOK COMMENTS