काठमाडौं, ०९ आश्विन – निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावको बाटो खुलेको छ । गृह मन्त्रालयले महासंघलाई विद्युतीय माध्यमबाट साधारणसभा गर्न सहमति दिएसँगै निर्वाचन गर्न बाटो खुलेको हो ।
विद्युतीय माध्यमबाट साधारणसभा गर्दा र निर्वाचनमा मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा हुन नपाउने गरि गृहले स्विकृती प्रदान गरेको हो । त्यसो त, मन्त्रालयले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अनुमति दिएको हो । यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । महासंघकी अध्यक्ष भवानी राणाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताईन।
उनले स्वास्थ्य मापदण्डलाई अपनाई विभिन्न स्थानबाट चुनाव गर्ने तयारी गरिने जानकारी दिईन् । महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा र चुनाव गर्न स्विकृती माग्दै गृह मन्त्रालयमा पत्र पठाएको थियो । मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।
कोभिड १९ का कारण देशभर लकडाउन हुँदा २०७६ चैतको अन्तिम साता हुनुपर्ने महासंघको महाधिवेशन रोकिएको थियो । त्यस पस्चात पनि २ पटकसम्म महासंघको निर्वाचनको मिती तोकिएको भएता पनि कोभिड १९ को महामारीले गर्दा निर्वाचन हुन सकेको थिएन ।
FACEBOOK COMMENTS