काठमाडौं, १७ आश्विन – नेपालमा मनाइने ठूला चाडपर्व सुरु हुन अब २ सातामात्रै बाँकी छ । दशैं पर्व अन्तर्गत कात्तिक १ गते नवरात्र प्रारम्भ हुन्छ । सोही दिन हिन्दु धर्मालम्बीहरुले औपचारिक रुपमा घटस्थापना गरेर दशैंको आरम्भ भएको संकेत गरिन्छ । घटस्थापनासँगै सुरु हुने ‘फेस्टिभ सिजन’ यो वर्ष छठपर्व अन्तर्गत मंसिर ६ गतेको उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै सकिन्छ ।
विगतमा चाडपर्व सुरु हुनुभन्दा एक महिनाभन्दा अघिदेखि नै दशैंको चहलपहल हुन्थ्यो । तीज सकिएर सोह्रश्राद्ध सुरु हुनेबित्तिकै बजारमा भीड सुरु हुने गथ्र्यो । तर, यसपटक यो अवस्थामा निकै परिवर्तन भएको छ । दशैं सुरु हुन १५ दिनमात्रै बाँकी हुँदा अहिलेसम्म पनि बजारमा खासै चहलपहल देखिएको छैन ।
राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवाल भन्छन्, ‘बजारमा नियालेर हेर्नुभयो भने थाहा हुन्छ, अहिले बाटोमा जाने मान्छेको भीड छ, तर पसलमा अहिले पनि कोही छिर्दैनन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष २० प्रतिशत पनि व्यापार भएको छैन ।’
उनका अनुसार न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रदेखि बानेश्वर, कोटेश्वर, कलंकी, बसपार्कलगायतका क्षेत्रमा अघिल्लो वर्ष दशैं आउनुभन्दा एक महिना अघिदेखि नै निकै चहलपहल हुन्थ्यो । व्यापारीलाई बार्गेनिङ गरेर सामान बेच्ने फुर्सदै हुँदैनथ्यो ।
उनीहरुले आफ्नो मार्जिन राखेर सामानको मूल्य फिक्स गर्थे, ग्राहकले सामान रोजेर लैजान सक्थे । सामान मन पर्यो भने ग्राहक पनि धेरै बार्गेनिङमा उत्रिदैनथे । तर, योपटक सामान किन्न जाने ग्राहकको संख्या अझै पातलो छ, सामान्य अवस्थामा जस्तै एउटै सामानका लागि घन्टौं बार्गेनिङ गर्ने अवस्था यो पटक हटेको छैन । त्यसैले व्यापारीले दशैं आएको अनुभव गर्नै सकेका छैनन् ।
FACEBOOK COMMENTS