काठमाडौँ आश्विन १७,— प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत तीनै अंगका ६३ सुरक्षाकर्मीसहित केही उच्च पदस्थ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा कार्यरत केही सुरक्षाकर्मीमा संक्रमण देखिएसँगै शुक्रबार बालुवाटारमा गरिएको स्वाब संकलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायत केही दर्जनलाई कोरोना संक्रमण देखिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनमा संक्रमण देखिएको पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । मलाई केही लक्षण नै देखिएको छैन,उनले भने, रिपोर्ट भने पोजिटिभ आएछ ।
सल्लाहकार थापाका अनुसार स्वाब परीक्षणका क्रममा केही ड्राइभरहरु तथा थप सुरक्षाकर्मीहरुलाई पनि संक्रमण देखिएको छ । संख्या त यकिन छैन, उनले भने, डेढ दर्जन जति छन् भन्ने जानकारी पाएको छु ।
उनले बालुवाटारमा कार्यरत रहेका सुरक्षाकर्मीसहित केही उच्च पदस्त व्यक्तिलाई संक्रमण देखिएपनि प्रधानमन्त्री ओलीलाई भने संक्रमणको कुनै जोखिम नरहेको दाबी गरे । प्रधानमन्त्री ज्यू सधैं क्वारेन्टिनमै बसे जस्तो हो । उहाँसँग भेटघाट गर्ने जो कोहीले पनि अनिवार्य रुपमा सुरक्षाका मापदण्ड अपनाएका हुन्छौं,उनले भने, प्रधानमन्त्री ज्यूसँग हामीले भेट्दा पनि आवश्यक सतर्कता र सुरक्षा मापदण्ड अपनाएर नै भेट्ने गरेका छौं ।
नेपाली सेनाका प्रवक्ता साहयक रथी सन्तोषवल्लभ पौडेलका अनुसार बालुवाटारमा कार्यरत नेपाली सेनाका २८ जनालाई कोरोना संक्रमण देखिएको छ । अहिले संक्रमित भएका अधिकांश सेनाका कर्मचारी प्रधानमन्त्रीको क्लोज कन्ट्याक्टमा नआउने खाले हुन्, उनले भने, एकदुई जना एस्कर्टिङमा खटिने पनि छन् भन्ने जानकारी छ । उनका अनुसार सेनाका करिब सय जना जति बालुवाटारमा प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका हुन्छन् ।
यस्तै नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरीका १७ जनामा संक्रमण पुष्टि भएको छ भने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार १८ जना सशस्त्र प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका प्रमखु डा। वासुदेव पाण्डेका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको स्वाब संकलनमा ५० जनाभन्दा बढीलाई नै संक्रमण देखिएको छ । मैले त्यहाँबाट गरिएको नुमना संकलनमा करिब ५० जनाभन्दा बढीलाई नै संक्रमण देखिएको छ भन्ने जानकारी पाएको छु । संख्या अहिले नै यकिन भएको छैन, उनले भने, फेरि सबै बालुवाटार मै काम गर्नेहरु पनि हुनुहुन्न । बाहिरको पनि हुनुहुन्छ भन्ने जानकारी छ ।
बालुवाटारस्थित उच्च स्रोतका अनुसार तीनै अंगका सुरक्षाकर्मी र ड्राइभरहरु गरेर ५० भन्दा बढीलाई नै संक्रमण देखिएको छ । ती स्रोतका अनुसार पहिला केही ड्राइभरहरुमा देखिएको संक्रमण सुरक्षाकर्मी हुँदै उच्च पदस्त अधिकारीहरुसम्म पुगेको हो ।
शुक्रबार स्वाब दिएको र शनिबार रिपोर्ट आएको रिमाल, भट्टराई र थापाले सामाजिक संजालमार्फत जानकारी दिएका थिए । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सचेतता अपनाउन आग्रह गरेका थिए ।
रिमालले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यस बीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।
प्रमुख स्वकीय सचिव भण्डारीले संक्रमित कसैलाई पनि कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको उनले जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरना संक्रमण भएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा। दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो भने प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।
-कान्तिपुर दैनिक वाट साभार
FACEBOOK COMMENTS