काठमाडौं, असोज १९ – दसैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्दो छ । खसी बजारमा पनि खसीबोका भरिन थालेका छन् । कोभिड–१९ को बढ्दो संक्रमणले सबै क्षेत्र तहसनहस बनाइरहँदा खसीबोका व्यवसाय पनि प्रभावित छ ।
विगतमा घटस्थापनाको १५/२० दिनअघिदेखि नै खसी बजारमा चहलपहल हुन्थ्यो । खसी कुन/कुन जिल्लाबाट भित्र्याउने, कति परिमाणमा ल्याउने भन्ने चर्चा हुन्थ्यो । यसपालि भने खसी व्यवसायी खिन्न छन् । खरिदबिक्री पनि त्यति नरहेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले बताए । ‘गत वर्ष यही समयमा खसी बजारका खोर भरिभराउ थिए । बिक्री पनि उत्साहजनक थियो,’ उनले भने, ‘तर, यसपालि कोभिड–१९ ले चिन्ता थपेको छ । सर्वसाधारणको क्रयशक्ति घटेको छ, व्यापार नै छैन ।’ उपत्यकासँगै मुलुकभर कोभिड–१९ सक्रमितको संख्या बढेको बढ्यै छ । सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि पुगे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउनको प्रस्ताव गरिसकेको छ । ‘यस्तो अवस्थामा कति परिमाणमा खसीबोका भित्र्याउने भन्नेमै अन्योल छ,’ खड्काले भने । उनका अनुसार दसैंका लागि उपत्यकाका लागि ५० देखि ५५ हजार खसीबोका ल्याउने योजना छ ।
चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानु पराजुलीले पनि विगतमा जस्तै यस वर्ष खसीबोका बिक्री हुने अवस्था नरहेको बताए । ‘विगतमा खसीबोकाको माग धान्नै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष स्वदेशमै उत्पादन पर्याप्त छ । तर आन्तरिक खपत कम छ ।’ पशुसेवा विभागका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसीबोका खपत हुन्छ । दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत २५ भन्दा बढी जिल्लामा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ । अपुग खसीबोका भारतबाट ल्याउने गरिएको छ । चालु आर्थिक वर्षका दुई महिनामा भने भारतबाट खसीबोका नभित्रिएको भन्सार विभागको तथ्यांक छ । व्यवसायीले भने अवैध रूपमा भित्र्याइरहेको सरोकारवाला बताउँछन् । नेपालमा बिक्री हुने करिब ५५/६० प्रतिशत खसी भारतीय रहेको पराजुलीको दाबी छ ।
खाद्यले २ हजार मात्रै ल्याउने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्कालका लागि २ हजार मात्र खसीबोका र च्यांग्रा ल्याउने भएको छ । सर्वसाधारणको मागका आधारमा परिमाण भने बढ्न सक्ने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । ‘यो वर्ष ३ हजारको लक्ष्य थियो । त्यसका लागि करिब ६ करोड बजेट विनियोजन भइसकेको छ,’ उनले भनिन्, ‘तर पहिलो चरणमा एक हजार खसीबोका र एक हजार च्यांग्रा ल्याउँछौं । माग भए थप्छौं ।’ खसीबोका तुलसीपुर र हेटौंडा अनि च्यांग्रा मुस्ताङबाट ल्याउने योजना रहेको उनले बताइन् । ‘खसीबोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछौं,’ न्यौपानेले भनिन्, ‘खाद्यका खसीबोका निजीभन्दा सस्तो नै हुन्छ ।’
यसपालि च्यांग्रा पनि कम भित्रिने सम्भावना रहेको व्यवसायी बताउँछन् । अहिलेसम्म चार जना व्यवसायीले मात्रै कलंकी बजारमा सम्पर्क गरेका छन् । गत वर्ष च्यांग्रा भित्र्याउनकै लागि १० जनाले सम्पर्क गरेका थिए । ‘५/७ दिन हिँडाएरै च्यांग्रा ल्याउने हो । तर गत वर्ष जस्तो किसान व्यवसायीले कलंकी बजारमा सम्पर्क गरेका छैनन्,’ काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष खड्काले भने, ‘यसले च्यांग्रा पनि कम भित्रिने देखिन्छ ।’ म्याग्दी, मुस्ताङसँगै चीनबाट पनि च्यांग्रा ल्याउने गरिएको छ ।
FACEBOOK COMMENTS