काठमाडौं, असोज २० – प्रस्तावित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले भालुबाङले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने बताएका छन् ।
प्रदेशसभामा प्रदेश केन्द्रका बारेमा धारणा राख्दै उनले थारु, मगर र मधेसी समुदायको भावनालाई भालुबाङले जोड्ने पनि बताए । अर्घाखाँचीको शीतगंगा गाउँपालिकाको केही क्षेत्रसमेत केन्द्रमा समेटिएको भन्दै उनले कुनै राजनीतिक आग्रह राखेर प्रदेश केन्द्र नतोकेको बताए ।
प्रदेश सरकार एउटा क्षेत्रको विकासमा मात्र केन्द्रित रहन नसक्ने भन्दै उनले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्नेगरी प्रदेश केन्द्र तोकिएको बताए । भालुबाङ प्रदेशको एकल नदी सभ्यता भएको ठाउँ राप्ती नदीको छेउमा प्रदेश राजधानीको परिकल्पना गरेको र सो नदीले दुई वटा आञ्चलिक मनोविज्ञानलाई जोड्ने पनि बताए ।
बुटवललाई औद्योगिक केन्द्र, लुम्बिनीलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिबद्धता पनि उनले जनाए । प्रदेशको केन्द्र भालुबाङ तोकिए पनि विकासमा चिन्ता नगर्न बुटवलवासीलाई आग्रह गरे । त्यस्तै, उनले हिजो प्रदेशसभामा भएको घटनाले प्रदेशसभामा आफुहरुले स्थापित गरेको राजनीतिक संस्कारबाट विचलित हुन पुगेको बताए ।
कुनै क्षेत्रविशेषमा केन्द्रित भएर प्रदेशको समृद्धिको कल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशका १२ जिल्लाकै समृद्धिको परिकल्पना प्रदेश सरकारले गरेको बताए । विशेष समितिले प्रतिवेदन बुझाउँदा प्रदेश सरकारले प्रदेश केन्द्रबारे उपयुक्त निकास निकालोस् भनेर सुझाव दिइएको भन्दै उनले समितिको सुझावविपरीत केन्द्र तोकिएको भन्ने कुरामा सत्यता नभएको जिकिर गरे ।
FACEBOOK COMMENTS