काठमाडौं, असोज २३ – जारी आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पञ्जावलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पञ्जाव १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
पञ्जावका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पञ्जावका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे । हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए ।
पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १५ ओभरमा १ सय ६० रनको साझेदारी गरेका थिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पञ्जावको भने ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको पुछारमा छ ।
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS