काठमाडौं, असोज २६ – सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने बताएको हो। काठमाडौंमा संक्रमितको संख्या दैनिक अरु ठाउँको भन्दा धेरै संख्यामा बढ्न थालेपछि सरकारले काठमाडौं केन्द्रित रणनीति तय गरेको हो। सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयु थपिने पनि सरकारले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइएको जानकारी दिए। ‘सबै किसिमका सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा विकास गरी हाललाई औषधि ब्यवस्था विभागसँग भएका आइसीयु भेन्टिलेटर आदी सघन उपचारका लागि उपत्यकाका लागि केन्द्रीत भएर ब्यवस्थित गर्ने,’ उनले भने।
काठमाडौं उपत्यकामा संक्रमण उच्च गतिमा बढेसँगै आइसोलेसन बेडको समेत अभाव हुन थालेको छ। मन्त्रालयले पनि अहिलेकै हिसाबमा संक्रमित संख्या बढिरहे काठमाडौं उपत्यकाको अस्पतालले उपचार गर्न नसक्ने बताउँदै आएको छ।
FACEBOOK COMMENTS