काठमाण्डौं, असोज २८- विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले अफर ल्याएका छन् । त्यसमा पनि नेपालमा सर्वाधिक बिक्री हुने सवारी साधन नै मोटरसाइकल भएकाले बिक्रेताहरुले ग्राहक लोभ्याउने स्कीम नदिने कुरै रहेन् । यस्तोमा नयाँ मोटरसाइकल किन्ने ग्राहकलाई आफ्नो आवश्यकता अनुसारको मोटरसाइकल कसरी छनोट गर्ने भन्ने अन्योल हुन सक्छ ।
मोटरसाइकल किन्ने योजना बनाउनु पहिले तपाईको आम्दानी र खर्च गर्न सक्ने क्षमता हिसाव किताब गर्नु पर्छ । बजारमा विभिन्न किसिमका सुविधा उपलब्ध रहेपनि यदि तपाईसँग नगद रकम जम्मा छ भने पुरै रकम एकैपटक तिरेर नगदमा नै मोटरसाइकल किन्नु मुद्धिमानी हुन्छ । यसरी नगदमा मोटरसाइकल किन्दा कर्जा प्रकृयाको लागि लाग्ने सर्भिस चार्ज, व्याजदर र नगद छुट धेरै लिन सकिने हुन्छ । यदि कर्जामा लिने हो भने नगद छुट पाइदैन भने थप खर्च गर्नु पर्ने हुन्छ ।
आफ्नो आर्थिक अवस्था हेरिकन निर्णय लिनु वुद्धिमानी हुने छ । आर्थिक स्रोत बाहेकपनि नयाँ मोटरसाइकल किन्दा त्यसको इन्जिन क्षमता, माइलेज, सर्भिस नेटवर्क र पुनः बिक्री गर्दा पाइने मूल्य जस्ता कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
१.ब्राण्ड र इन्जिन
तपाईले किन्न खोजेको मोटरसाइकलको ब्राण्ड कुन हो र कस्तो इन्जिन यसमा प्रयोग भएको छ भन्ने विषयमा जानकारी लिएर मात्रै मोटरसाइकल किन्नु पर्ने हुन्छ । मोटरसाइकलमा प्रयोग भएका एयर कुल्ड, लिक्विड कुल्ड र आयल कुल्ड मध्य कुन इन्जिनको प्रयोग भएको छ, त्यसको जानकारी राख्नु पर्छ ।
तपाईको मोटरसाइकल प्रयोग हुने स्थानले पनि इन्जिनको महत्व राख्छ । यदि तपाई पहाडी र हिमाली क्षेत्रमा मोटरसाइकल प्रयोग गर्नु हुन्छ भने तपाईको लागि २०० सीसी क्षमताको इन्जिन भएका मोटरसाइकल उपयुक्त हुन्छन् । तपाई तराई क्षेत्रको लागि मोटरसाइकल किन्नु हुन्छ भने १०० देखि १६० सीसीसम्मका मोटरसाइकल पहिलो रोजाईमा पर्न सक्छ ।
त्यसैले आफ्नो आवश्यकता र ड्राइभिङ क्षमता अनुसारको इन्जिन भएको मोटरसाइकल रोज्नु पर्छ । तुलनात्कमरुपमा मोटरसाइकल जोखिमपूर्ण सवारी साधन मानिने भएकाले एबीएस र सिबीएस जस्ता फिचर भएको मोटरसाइकल किन्दा थप सुरक्षीत हुन सकिन्छ ।
२. माइलेज
आजकलका युवाहरुले माइलेजमा खासै ध्यान दिएको पाइदैन । मोटरसाइकल किन्न जति रकम खर्च हुन्छ त्योभन्दा कयौ गुणा बढी रकम इन्धनमा खर्च हुने गर्छ । नेपालमा आफ्नै पेट्रोलियम पदार्थ नभएकाले बेलाबखत बजारमा हाहाकार हुने गर्छ । त्यसैले हामीले मितव्ययी बन्नु पर्छ । सकभर माइलेज बढी दिने मोटरसाइकल रोज्नु उपयुक्त हुन्छ ।
३.सर्भिस नेटवर्क
अहिले नेपालमा करिब ३० भन्दा बढी ब्राण्डका मोटरसाइकल बिक्री हुँदै आएको छ । नयाँ मोटरसाइकलमा सर्भिसले खासै महत्व नपाउला तर, सर्भिस निकै महत्वपूर्ण मानिन्छ । यदि तपाई किन्न खोज्नु भएको मोटरसाइकलको सर्भिस राम्रो व्यवस्था छैन भने तपाई लामो समयसम्म पछुताउनु पर्ने हुन्छ । त्यसैले मोटरसाइकल छनोट गर्दा नै उक्त ब्राण्डको सर्भिस नेटवर्क, पार्टसको उपलब्धता जस्ता विषयमा बुझ्ने प्रयास गर्नु होस् । त्यसले मोटरसाइकलमा केही समसया आएपनि तत्काल बनाउन पाउने अवस्था सृजना गर्छ ।
४. रिसेल भ्यालु
मोटरसाइकल छनोट गर्दा २/३ वर्षपछि बिक्री गर्न मन लाग्यो, नयाँ मोडल मन पर्यो भने पहिला चढिरहेको मोटरसाइकल बिक्री गर्नु पर्ने हुन्छ त्यस्तोमा राम्रो मूल्य पाउने कम्पनी छनोट गरेर मोटरसाइकल किन्दा पछि हुने आर्थिक नोक्सानीलाई कम गर्न सकिन्छ । धेरै बिक्री हुने, धेरै नेटवर्क भएका, राम्रो ब्राण्ड भ्यालु भएका कम्पनीको मोटरसाइकल किन्दा पछि पनि राम्रो रकम पाउने अवस्था सृजना हुन्छ ।
FACEBOOK COMMENTS