अन्जनराज न्यौपाने तनहुँ, २९ असोज- सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न महत्वपूर्ण स्थानहरूमा कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउन आम सर्वसाधारणमा अपिल गरेको छ।
कोभिडको जोखिमलाई मध्यनजर राख्दै आम सर्वसाधारणहरुले अपनाउनु पर्ने कोरोना सम्बन्धी उच्च सतर्कताका लागि सचेतनामुलक माइकिंग गर्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। उनका अनुसार, जिल्लाका आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामामा कोरोना संक्रमणको उच्च जोखिम भएका कारण उच्च सतर्कता अपनाउन सम्वद्ध सबैमा अपिल गरिएको जिल्ला प्रहरी प्रमुख पौडेलले बताए । विभिन्न उद्योगी,व्यापारी, कार्यालय प्रमुख, राजनैनिक दलका नेता, पत्रकार र विभिन्न आम सर्वसाधारणलाई अपिल समेत गरिएको उनले जानकारी दिए।
अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाट बाहिर निस्कन र निस्कने परेको खण्डमा माक्स लगाउने, सेनिटाईजर प्रयोग गर्ने र सामाजिक दुरी कायमगरि सतर्क हुन आग्रह गरिएको उनले जनाएका छन् । जिल्लाका व्यस्त बजारहरु आँबुखैरेनी, देवघाट डुम्रे, बन्दिपुर ,दमौली ,खैरेनीटार भिमाद जस्ता महत्वपूर्ण बजारहरुमा सार्वजनिक सवारीसाधनहरुमा अत्याधिक भिडभाड बढेसँगै कोरोना संक्रमण पनि बढ्ने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन माइकिङ समेत गरिएको छ। आम सर्वसाधारण नागरिकहरुले आफ्नो जीवनस्तर अत्यन्त सरल र सहज ढङ्गबाट व्यवस्थापन गर्दै दैनिक जीवन ब्यतित गर्नको लागि सबै सतर्क भएर लाग्न माईकिङमा आग्रह गरिएको छ। पसलहरुमा खरिद गर्दा सामानहरु विक्री वितरणमा उच्च सतर्कता अपनाउनुपर्ने , आवतजावत गर्दा हुने सवारी साधन र अन्य स्थानहरुमा सतर्क भएर काम गर्न पनि सल्लाह दिईएको छ। साथमा माक्स र सेनिटाइजर लिएर हिँड्न सर्वसाधारण सबैमा जिल्ला प्रहरी कार्यालय तनहुँले अपिल गरेको छ। चर्को भाडा लिने सवारी साधनलाई तुरुन्त कारबाही गरिने समेत बताइएको छ । ‘चाँडपर्व नजिकिँदै गर्दा मौका छोपेर सवारी साधनका चालकहरूले मनोमानी ढङ्गबाट चर्को भाडा लिने गरेको भन्ने जनगुनासोलाई आत्मसात गर्दै हामीले चर्को भाडा लिने उपर तुरुन्त कारबाही गर्ने छौ’ प्रहरी प्रमुख पौडेलले बताए ।
‘समाजमा हुने चोरी ,लुटपाट , लागुऔषध ओसार-पसार बिक्रीवितरण ,लडाइँ ,झगडा ,जुवा तास खेल्ने खेलाउने लगायतका विभिन्न आपराधिक गतिविधिहरुलाई न्यूनिकरण गर्नको लागि विभिन्न तरिकाले विशेष प्रहरीहरु परिचालन गरिसकेका छौं, विशेष प्रहरी सादा पोशाकमा परिचालन गरेका छौं’ उनले भने।
सादा पोशाकमा खटिएका प्रहरीहरुले आफ्नो गतिविधीलाई चौबिसे घण्टा निरन्तरता दिइएको समेत बताइएको छ।यसरी २४ घण्टा जनसेवामा निरन्तरता दिँदा चोरी लुटपाट र बलत्कार, हिंसात्मक गतिविधि र आपराधिक गतिविधि नियन्त्रणमा आएको प्रहरीको दावी रहेको छ। स्थानीय बासिन्दाहरु पूर्णरुपले शान्तिसुरक्षा पाउनेमा आफूहरु आशावादी रहेको बताएका छन्। सवारी दुर्घटना न्युनिकरण गराउन आबुखैरेनी,डुम्रे ,दमौली र खैरेनीटार जस्ता अति ब्यस्त बजारहरुमा सवारी सचेतनामुलक बोर्डहरु राखिएका छन्। यसरी चेतनामूलक बोर्ड राखिदाँ भने सवारी दुर्घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
FACEBOOK COMMENTS