काठमाडौँ, कार्तिक १ –बागलुङ र काभ्रेका धार्मिक स्थल र शक्तिपीठहरूमा निषेधाज्ञा जारी गरिएको छ। दशैँअन्तर्गत नवरात्र शुरू भएसँगै यहाँका शक्तिपीठहरूमा निषेधाज्ञा लगाइएको हो। धार्मिक कार्यमा हुने भीडभाड रोकी कोरोना संक्रमण थप फैलन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन्।
बागलुङका शक्तिपीठहरूमा शुक्रबार राती १२ बजेदेखि नै प्रवेश निषेध गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समिती बैठकबाट शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए।
कोरोना महामारीलाई ध्यानमा राख्दै शक्तिपीठहरूमा हुनसक्ने भीडभाड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन्। सबै शक्तिपिठमा नियमित पूजा बाहेक सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।
शनिबारबाट नवदुर्गा सुरु हुँदैछ। नव दुर्गाको पूर्वसन्ध्यामा सम्भावित भीडलाई लक्षित गरेर प्रशासनले रोक लगाएको हो। निषेधाज्ञा कार्तिक ९ गते राती १२ बजेसम्म जारी रहने विज्ञप्तीमा उल्लेख छ।
भेला, बैठक, धार्मिक कार्य महोत्सवलगायतका भीड हुने क्रियाकलाप र विद्यालय, क्याम्पस, तालिम, सेमिनार, खेलकुदलगायतका क्षेत्रमा समेत रोक लगाइएको छ।

त्यस्तै, जिल्लाका ८५ वडामा अनुगमन समिति गठन गरेर दशैँको समयमा बाहिरबाट आउनेहरूको अनुगमन र निगरानी गर्न जिम्मेवारी दिईने समेत बैठकले निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले यहाँका शक्तिपीठ र मन्दिरहरूमा निषेधाज्ञा जारी गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र जिल्लाको अन्य सुरक्षा निकायहरूको बैठकले मन्दिर र शक्तिपीठहरूमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो।