काठमाडौं, कात्तिक १७ – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ ।
पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।
उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्यअनुसार नै कामसक्ने एकाइको प्रतिबद्धता छ । पूर्वी भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि मङ्सिर मसान्तमै काम सकिने उनको भनाइ छ ।
रानीपोखरी उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि मङ्सिर मसान्तभित्र काम सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सारिने प्रतिबद्धता जनाएका थिए ।
FACEBOOK COMMENTS