काठमाडौं, कात्तिक १७ – कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।
पोखरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए ।
“हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ शय्याका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ”, उनले भने । उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० शय्या र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ शय्याका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ ।
उनले अक्सिजन पाइप जडानका लागि रु १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल रु नौ लाख गरी कूल रु १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
FACEBOOK COMMENTS