काठमाडौं – नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको ४ महिना सम्म पनि नयाँ गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन ।
निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, ४ महिना बितिसक्दा समेत नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी खरिदको पुष्टी हुन सकेको छैन ।
नेपाल वायु सेवा निगमले एजेन्टको माध्यमबाट खरिद गरेको वाईडबडी पनि न्यारोबडी र बोइङले उडान भर्ने गन्तब्यमै सीमित छन् ।
निगमले बनाउने कम्पनि संग सिधै खरिद गर्दा लामो समय सम्म जहाज नपाउने भएपछि एजेन्ट बाट खरिद गरेको जनाएको छ । एजेन्ट संगको खरिद प्रकृयामा अनियमितता भएको भन्ने पनि छ ।
निगमले विवादका विच वाईडबडी भित्राए पनि नयाँ गन्तव्य विस्तार गर्न सकेको छैन । निगमले वाईडबडि गन्तव्यको पूर्व तयारी विनानै जहाज भित्राएको छ ।
यसले निगमलाई महिनामा २५ देखि ३० करोडसम्म नोक्सान भइरहेको दाबी पर्यटन मन्त्रालय स्रोतको छ । मन्त्रालय स्रोतकाअनुसार निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमानहरु अहिले चुस्त अवस्थामा छन् । यो अवस्थामा वाइडबडीलाई दैनिक १६ घण्टासम्म उडाउन सके निगमले ३० करोडसम्म कमाउन सक्छ ।
तर, निगमले नयाँ गन्तब्यमा उडान अनुमति पाउन सकेको छैन । निगमले लक्षित गरेको जापान, कोरिया, चीन र साउदी कतै पनि वाइडबडीले उडान अनुमति पाएको छैन ।
यसले नियमित गन्तब्यहरुमा न्यारोबडी र वाइडबडी विमान आलोपालो उडाउनु पर्ने बाध्यता छ । वाइडबडीले दोहा, दिल्ली, बैंगलोर लगायतका गन्तब्यमा दिनमा केही उडान गर्छ ।
पर्यटन मन्त्रालयले वाइडबडीले लामो समयसम्म नयाँ गन्तब्यमा उडान गर्न नसक्ने हो भने निगमले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयले जहाज किन्दा लागेको ऋण, त्यसको ब्याज तथा जहाजको मर्मत र सञ्चालन खर्चबारे चिन्ता गरिएन भने वाइडबडीका कारण निगम डुब्न बेर नलाग्ने मन्त्रालयको बुझाई छ ।
पर्यटन मन्त्रालयका अनुसार वाइडबडीबाट छोटा गन्तब्यमा उडान भर्दा वायुसेवा निगमलाई खासै नाफा हुँदैन । वाइडबडी उडाउने नाममा न्यारोबडी थन्किने अवस्था आए त्यसले पनि निगमलाई पछाडि घचेट्ने अवस्था आउँछ ।
निगमका प्रवक्ता अशोक सिग्देल भने नयाँ उडान अनुमति नआउँदासम्म जहाज नउडेकै कारण आर्थिक समस्या नपर्ने बताउँछन् । ‘अहिले पनि वाइडबडी उडिरहेका नै छन् । नयाँ गन्तब्यमा छिट्टै जाँदैछौं’ उनले भने, ‘अहिले केही समय नयाँ विमान नउड्दा आर्थिक जोखिम सिर्जना हुन्छ जस्तो हामीलाई लाग्दैन ।’
वाइडबडी विमानहरु दैनिक ८ घण्टासम्म उडिरहेको वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।
नयाँ गन्तव्यको खोजी
नयाँ गन्तब्य बनाउने भनिएका देशहरुसँग उडान अनुमति लिने प्रक्रिया अघि बढाइसकेको भन्दै निगमले केही समयमा नै परिणाम आउने दाबी गरेको छ ।
वायुसेवा निगमले चीनको ग्वान्झाओ एयरपोर्टसम्म उडान अनुमति मागेको थियो । तर, चीनले पनि स्लटको समस्या देखाउँदै ग्वान्झाओमा उड्न अनुमति दिएन । सांघाई लगायतका विमानस्थलमा उडान अनुमति माग्न अध्ययन भइरहेको बताइएको छ ।
निगमले कोरियाको सिओलस्थित इन्चोन र जापानको हानाडा एयरपोर्टमा उडान अनुमति लिन खोजेको छ ।
तर, कोरियाले नेपालको हवाई सुरक्षाको सुपरिवेक्षण गरेर मात्रै उडान अनुमति दिन सकिने जवाफ दिएको छ । तर, कोरियाले त्यसका लागि टोली पठाएको छैन ।
FACEBOOK COMMENTS