काठमाडौं, कार्तिक २० – कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि दर्शकले सिनेमा हलमा नयाँ फिल्म हेर्न पाएका छैनन् । लकडाउनको समयमा यूट्यबमा पनि खासै धेरै फिल्म सार्वजनिक भएनन् । जसले गर्दा दर्शकहरु हलमा हेर्न छुटेका फिल्महरु यूट्युबमा प्रतिक्षा गरेर बसेका छन् । यसबीच, बिहीवारबाट अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ यूट्युबमा उपलब्ध भएको छ ।
हलमा रिलिजको डेढ वर्षपछि यो फिल्म यूट्युबमा आएको हो । नजिकिँदै गरेको तिहारको छेको पारेर बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको फिल्मले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गरेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ । फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिकामा सुहाना छिन् ।
घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको फिल्मले समीक्षकबाट खासै तारिफ पाउन सकेको थिएन । दर्शकहरुले भने फिल्म निकै रुचाएका थिए । यही फिल्मबाट सुहानाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । समीक्षक र दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यूट्युबमा पहिलो पटक फिल्म हेर्ने दर्शकले पनि उनको अभिनय रुचाएका छन् ।
FACEBOOK COMMENTS