काठमाडौं, कार्तिक २८ – बाल सहभागितासम्बन्धी कार्यविधि २०७७ को अन्तिम मस्यौदा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराललाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) र सिविन नेपालको प्राविधिक सहयोगमा बिहीबार मस्यौदा हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयको महाशाखाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, प्रदेश स्तरीय बाल क्लब सञ्जालका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रमको सहजीकरण कन्सोर्टियम नेपालको अध्यक्ष किरण थापाले गरेका थिए ।
कार्यक्रममा मन्त्री बरालले मस्यौदालाई मन्त्रालयका सम्बन्धित व्यक्तिहरुसँगको सल्लाहमा छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाए । सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराईले प्रस्तुत बाल सहभागितासम्बन्धि कार्यविधिले विगतमा प्रदेशमा भएका बाल सहभागिताका राम्रा अभ्यासहरुलाई निरन्तरता दिने बताए ।
FACEBOOK COMMENTS