काठमाडौं, मंसिर ४ – नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।
गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो । एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन ।
दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले अनलाइनखबरलाई बताए । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।
थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ । हाल एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।
FACEBOOK COMMENTS