काठमाण्डाै, मंसिर ६ – प्रख्यात औषधी निर्माता अमेरिकी कम्पनी फाइजरले आफूले आविष्कार गरेको कोरोना भाइरसबिरुद्धको खोप आपतकालीन प्रयोगमा ल्याउने अनुमतिको लागि अमेरिकी खाद्य तथा औषधी प्रशासन एफडीएसमक्ष शुक्रबार औपचारिक निवेदन पेश गरेको छ । एफडीएले स्वीकृति दिएमा अबको एक महिनामा अर्थात् डिसेम्बरको मध्यदेखि उक्त खोप उच्च जोखिममा परेका कोभिड–१९ संक्रमितहरूको जीवन रक्षाको लागि आपतकालीन प्रयोगमा ल्याउन मिल्ने छ ।
फाइजर र उसको जर्मन साझेदार बायोन्टेकले गत बुधवार आफूले विकास गरेको खोप सुरक्षित रहेको उल्लेख गर्दै ९५ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । साथै कम्पनीले खोप कोभिड–१९ संक्रमित बृद्धहरूमा समेत प्रभावकारी देखिएको उल्लेख गरेको थियो ।
त्यसैगरी अर्को औषधी उत्पादक कम्पनी फ्रन्ट रनर मोडर्नाले पनि आफूले विकास गरेको कोभिड–१९ बिरुद्धको खोपसमेत ९४ दशमलब ५ प्रतिशत सुरक्षित रहेको दाबी गर्दै आपतकालीन प्रयोगको लागि एफडीएसमक्ष छिट्टै निवेदन पेश गर्ने तरखरमा रहेको बताएको छ ।
यी दुबै समाचारले कोभिड १९ संक्रमणको कारण मानवीय जीवन नै उच्च जोखिममा रहेका अमेरिकीहरूले एफडीएले औपचारिक अनुमति दिनुअघि नै आपतकालीन निकाय र अधिकारीहरूबाट ती खोपको प्रयोग गर्ने अनुमति पाउनसक्ने सम्भावनालाई बढाइदिएको छ ।
FACEBOOK COMMENTS