काठमाडौं, मंसिर ७ – कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास भइरहँदा सँसारकै ध्यान अक्सफोर्ड भ्याक्सिनमाथि भइरहेको छ । नेपालको ध्यान पनि यही भ्याक्सिनमा भइरहेको छ । अहिलेसम्म भ्याक्सिन विकास निष्कर्षमा पुगेको छैन । यसै महिनाभित्र या डिसेम्बरमा भ्याक्सिन विकास निष्कर्षमा पुग्ने आशा गरिएको छ ।
एस्ट्रा-अक्सफोर्ड भ्याक्सिन अन्य भ्याक्सिनभन्दा सस्तो पर्ने जनाइएको छ । भ्याक्सिन उत्पादन भएपछि यसको मूल्य प्रति डोज ४ देखि ५ डलर पर्छ । दुई डोज लगाउनुपरेमा अधिकतम १० डलर अर्थात् १२ सय रुपैयाँ सम्म पर्छ । नेपाल जस्तै कमजोर आर्थिक अवस्था भएका मुलुकहरुले यति मूल्यमा भ्याक्सिन खरिद गर्न क्षमता राख्नेछन् ।
अमेरिकी कम्पनिहरु फाइजर र मोर्डनाको भ्याक्सिन अक्सफोर्डको तुलनामा चार देखि आठ गुणा महङ्गो पर्छन् । फाइजरले प्रति डोज २० डलर पर्ने जनाएको छ । दुई डोज लगाउँदा ४० डलर सम्म पर्नेछ । मोर्डनाले प्रतिडोज ३२ देखि ३७ डलर मूल्य पर्ने जनाइसकेको छ । दुई डोजको ७५ डलर सम्म पर्नेछ । अमेरिकाको बायोनटेक भ्याक्सिनको मूल्य पनि प्रति डोज २० डलर पर्ने देखिन्छ । नेपाल जस्तो देशका लागि यति महङ्गो भ्याक्सिनको खर्च धान्न कठिन पर्न सक्छ ।
भ्याक्सिनको प्रभावकारिता त छँदैछ यसको मूल्य र भण्डारणको चुनौती पनि महत्वपूर्ण पाटो हो । फाइजर र मोर्डना भ्याक्सिन माइनस २० देखि ७० डिग्रीसम्ममा चिस्याएर राख्नुपर्ने हुन्छ । यो अर्को चुनौती हो ।
अक्सफोर्ड भ्याक्सिन युरोप र अमेरिकामाभन्दा बाँकी विश्वमा बढी प्रयोगमा आउने गरी विकास गरिदैछ । उसले कम र मध्यमस्तरको आयआर्जन भएका देशमा पनि भ्याक्सिन पठाउने लक्ष्य लिएको छ । यसकारण पनि यो भ्याक्सिन नेपालमा ल्याउन सकिन्छ ।
नोभ्याभ्याक्स, जोन्सन एन्ड जोन्सन, सानोफी, फाइजर र मोर्डना भ्याक्सिन युरोप र अमेरिकामा बढी प्रयोगमा ल्याइने बुझिएको छ । रुसी भ्याक्सिन पनि रुससँगै युरोप र अमेरिकाबाहेकका विश्वमा प्रयोगमा आउनेछ ।
अक्सफोर्ड भ्याक्सिन भारतको सेरम कम्पनिले पनि उत्पादन सम्झौता गरेको छ । यो विकासको घोषणा भई अनुमोदनलगत्तै पुणेस्थित सेरमले पनि उत्पादन थाल्नेछ । छिमेकी देशमा भ्याक्सिन उत्पादन भएमा नेपालले पनि छिटो पाउने सम्भावना रहन्छ । सेरमले त निकै कम मूल्यमा भ्याक्सिन उपलब्ध गराउने लक्ष्य लिएको छ । यसकारण अक्सफोर्ड भ्याक्सिन नेपालका लागि आशा दिलाउने र कोरोना भाइरसको महामारीविरुद्ध लड्ने अस्त्र हुनसक्छ ।
हुनत चीनका तीन कम्पनिले पनि भ्याक्सिन विकास गरिरहेका छन् । एउटा कम्पनिको भ्याक्सिन आकस्मिक प्रयोगका लागि ल्याइएको छ । तर, चिनियाँ भ्याक्सिनको मूल्य र प्रभावकारिताबारे स्पष्ट भएको छैन । यसकारण पनि अहिलेसम्म अक्सफोर्ड भ्याक्सिनमा नेपालले समेत बढी आशा राखेको देखिन्छ ।
FACEBOOK COMMENTS