पोखरा, १४ मंसिर- सोमबार पोखरामा प्याराग्लाडिङ दुर्घटना हुँदा पाइलट राजु नेपालीले ज्यान गुमाए भने यात्रु शिला श्रेष्ठ घाइते भइन्। दुर्घटनासँगै मंगलबार पोखराको आकासमा उडान भरिएन। दुर्घटनाको खबरले भर्खरै खुलेको प्याराग्लाइडिङ प्रभावित भयो। मान्छेहरुमा भयवित बने ।
आकाशमा विचरण गर्ने सपना बुन्नेहरु योजनालाई थाति राख्ने अवस्थामा पुगे । फलत : आन्तरिक पर्यटक लक्षित छुटको कार्यक्रमसँगै उकासिने सुरमा रहेको प्याराग्लाइडिङ तथा पोखराको आन्तरिक पर्यटनलाई यसले गम्भीर धक्का पु-याउने देखिएको छ। यस घटनाले प्याराग्लाइडिङ असुरक्षित छ भन्ने धारणाले प्रश्रय पाउन सक्ने स्थिती बन्न सक्ने देखिन्छ ।
आकासमा उडान भर्नु साहसिक काम भए पनि दुर्घटनाले सबैलाई झस्काएको छ । यात्रु राखेर फूल टिप्ने क्रममा यो दुर्घटना भएको भन्ने कुरा आएको छ । पछिल्लो समय यस्ता साहसिक उडानमा खिचिएका भिडियो टिकटक एवम् सामाजिक सञ्जालमा अपलोड गर्ने चलन बढेको छ । जोखिम मोलेर खिचिने यस्ता भिडियोबाट भाइरल हुने चाह राख्नेहरु बढदै गएका छन् । र सोमबार घटेको घटनाले प्याराग्लाडिङ पर्यटनमा असर पार्ने देखिन्छ ।
केही प्याराग्लाडिङ पाइलटहरुले उडानको क्रममा फूल टिपेर यात्रुलाई दिने, फेवातालको पानीमा खुट्टाले छुवाउनेजस्ता काम गर्दै यात्रुलाई खुसी बनाउन उद्यत देखिन्छन् । ‘वाटर टच, फ्लावर क्याच भनेर भन्ने अनि ५ सयसम्म अतिरिक्त पैसा लिने काम हुँदै आएको छ, यो राम्रो कुरा हैन, आकासमा उड्नु आफैमा जोखिम हो, लापरवाही गर्न मिल्दैन, एक व्यवसायीले भने, ‘एक्रोब्याटिकमा त रिकोभर भएन भने सामान्य मानिन्छ तर गाडीले सिधै लगेर मान्छे हानेजस्तो गर्न पाइँदैन, मान्छे मरेपछि क्षति भयो, यात्रु राखेर यस्तो हर्कत गर्न दिनु हुँदैन’ ।
दुर्घटनापछि प्याराग्लाडिङ असुरक्षित भन्ने सन्देश प्रवाह भैरहेकाले उप्रान्त सुरक्षामा सम्झौता गर्न नहुने उनले बताए। थप पैसा पाइने लोभ र भाइरल बन्ने होडले गर्दा समग्र पर्यटन व्यवसायमा असर पर्ने भन्दै पोखराका व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । लापरवाहीले प्याराग्लाइडिङ दुर्घटना हुँदा व्यवसायमा आँच आउने चिन्ता उनीहरुमा छ ।
FACEBOOK COMMENTS