काठमाडौं, १६ मंसिर – अमेरिकाका दुई वटा कम्पनीले कोरोनाविरुद्धको खोपको व्यापक प्रयोगका लागि अनुमति मागेका छन्। औषधि कम्पनी मोडेर्ना र फाइजरले खोप प्रयोगको अनुमति मागेका हुन्।
मोडेर्नाले अमेरिका र युरोपका नियामक निकायसँग अनुमति मागेको छ। अब नियामकहरुले खोपको परीक्षणसँग सम्बन्धित तथ्याङ्क हेरेर सुरक्षित भए नभएको निश्चित गर्नेछन्। खोप सबै मानिसलाई दिन सकिन्छ वा सकिँदैन भन्ने पनि उनीहरुले हेर्नेछन्।
क्लिनिकल परीक्षणले मोडेर्नाको खोप कोरोनाबाट बचाउन ९४ प्रतिशत प्रभावकारी रहेको देखाएको छ। मोडेर्नाले बेलायतबाट चाँडै अनुमति मिल्ने आशा राखेको छ।
मोडेर्नाले ३० हजार स्वयमसेवकलाई खोप लगाएको तथ्याङ्क नियामकहरुलाई उपलब्ध गराएको छ। तीमध्ये जेष्ठ नागरिक र उच्च जोखिमका रोगी पनि छन्। परीक्षणका क्रममा यी सबै व्यक्तिमा खोप प्रभावकारी भएको पाइएको थियो।
यसअघि फाइजरले पनि अमेरिकामा खोप प्रयोगका लागि आवेदेन दिएको छ। फाइजरले बनाएको खोप पनि मोडेर्नाको जस्तै प्रभावकारी भएको क्लिनिकल परीक्षणबाट प्रमाणित भइसकेको छ। बेलायतका नियामक अधिकारीहरु फाइजरको खोपलाई मान्यता दिनुअघि अनुसन्धानसँग सम्बिन्धित तथ्याङ्क अध्ययन गरिरहेका छन्।
यसबाहेक अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर बनाएको खोपलाई पनि आपतकालीन प्रयोग गर्न बेलायती अधिकारीले समीक्षा गरिरहेको समाचारहरुमा उल्लेख छ। उक्त खोप बेलायत र ब्राजिलमा व्यापक परीक्षण भइरहेको छ।
अक्सफोर्ड र अस्ट्राजेनेकाको खोपको मूल्य मोडेर्ना र फाइजरको खोपको तुलनामा कम पर्ने बीबीसीले उल्लेख गरेको छ। मोडेर्नाको खोपको मूल्य १५ डलर छ। फइजरको भने २५ डलर छ। तर, अस्ट्राजेनेकाको खोपको मूल्य तीन डलर मात्र छ।
अस्ट्राजेनेकाको खोप लगाउन पनि सजिलो भएको बताइएको छ। यो कम तापमानमा पनि राख्न सकिन्छ। तर, परीक्षणका क्रममा यो खोप अन्य दुई वटाको तुलनामा कम अर्थात ६२ देखि ९० प्रतिशत मात्र प्रभावकारी भएको पाइएको छ।
बेलायतले यी तीन वटै खोपको ‘प्रिअर्डर’ गरेको छ। उसले मोडेर्नाको खोप ७० लाख, फाइजरको चार करोड र अस्ट्राजेनेकाको १० करोड डोज प्रिअर्डर गरेको छ।
FACEBOOK COMMENTS