काठमाडौं, १८ मंसिर – फ्रान्सका पूर्वराष्ट्रपति बेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना संक्रमणबाट निधन भएको छ । फ्रान्सलाई संगठित बनाउने र एकजुट पार्ने श्रेय ९४ वर्षीय बेलेरीलाई दिने गरिन्छ । सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका बेलेरीलाई केही दिनयता श्वास–प्रश्वासमा समस्या भएको थियो । गत साता मात्र उनी अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्किएका थिए । तर, स्वास्थ्यमा पुनः समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो । पूर्वराष्ट्रपति बेलेरीले बुधबार राति अन्तिम सास लिएको अस्पतालले जनाएको छ ।
युरोपियन युनियन (इयू) को योजनाकारमध्ये उनी पनि एक हुन् । बेलेरी फाउन्डेसनले आफ्ना संस्थापकको निधन कोरोना संक्रमणबाट भएको पुष्टि गरेको छ । यसैबीच इयूले बिहीबार विज्ञप्तिमार्फत आफ्ना संस्थापक सदस्यको निधनप्रति शोक व्यक्त गरेको छ । ‘फ्रान्सलाई एउटा विकसित राष्ट्रका रूपमा अग्रसर गराउन प्रमुख भूमिका निर्वाह गर्नुका साथै सबै युरोपेली राष्ट्रलाई एक बनाउने उद्देश्यका साथ स्थापित इयूकै प्रमुख योजनाकारको निधनबाट हामी स्तब्ध भएका छौँ,’ इयूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इयूका प्रमुख मिचेल बार्निएरले फ्रान्सलाई आधुनिकीकरण गर्नमा बेलेरीको योगदान उच्च भएको बताएका छन् ।
क्रोएसियाका प्रधानमन्त्री एन्डे«ज प्लेन्कोभिकले फ्रान्स तथा युरोपले एक महान् नेता गुमाएको बताएका छन् । साथै युरोपलाई विश्वमै शक्तिशाली तथा समृद्ध बनाउने योजनाकारको निधनबाट धेरै क्षति पुगेको उनले बताए । ‘एक महान् राष्ट्रपति तथा युरोप बनाउने नेताको निधनबाट हामी स्तब्ध छौँ,’ उनले भने ।
FACEBOOK COMMENTS