काठमाडौं, मंसिर २५ – फाइजर भ्याक्सिनले मानव शरीरमा पहिलो डोज दिएको दश दिनभित्र बलियो सुरक्षा दिएको अमेरिकी फुड तथा ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले जनाएको छ । मंगलबार एफडिएले विज्ञप्ति जारी गर्दै फाइजरको पहिलो डोजले नै शरीरमा कोरोना भाइरसविरुद्ध राम्रो प्रतिक्रिया जनाएको उल्लेख गरेको हो ।
नोभेम्बरमा फाइजरले तीन हप्ताको अन्तरालमा दिइने दुई डोजले भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो । खोपको सुरुवाती परीक्षणमा गरिएको विश्लेषणअनुसार पहिलो डोजले नै राम्रो नतिजा देखाएको छ । फाइजर खोपको अध्ययनका क्रममा एक सयभन्दा बढी पेजको डाटा विश्लेषण सार्वजनिक गरेको हो ।
यसबाहेक ट्रायल परीक्षणको क्रममा स्वयंसेवकको उमेर, फरक भूगोल र स्वास्थ्य अवस्थामा राम्रो प्रभाव छाडेको छ । परीक्षणको समयमा केहीमा शरीर दुखाइ र सामान्य ज्वरो देखिए पनि खासै साइड इफेक्ट देखिएको पाइएन । बिहीबार एफडिएको भ्याक्सिन सल्लाहकारको प्यानलले फाइजर खोपको प्रमाणीकरण सिफारिस गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ ।
फाइजर बायोनटेकले गत जुलाईदेखि अमेरिका, अर्जेन्टिना र ब्राजिलमा करिब ४४ हजार सहभागीमा तेस्रो चरणको ट्रायल परीक्षण गरेको थियो । जसमध्ये आधामा वास्तविक खोप र आधा सहभागीमा प्लेसबोसट दिइएको थियो । खोप दिइएका व्यक्तिमा पहिलो १० दिनमा स्वास्थ्य अवस्थाबारे ब्रिफिङ रिपोर्ट गरिएको थियो ।
खोपको प्रभाव यसको प्रयोग गरेका व्यक्तिमा मात्र नभई उच्च भिडभाड रहेका अस्पतालमा पनि फाइदा पुग्ने बताइएको छ । अस्पतालहरूमा स्वास्थ्यकर्मी र कर्मचारीमा भ्याक्सिन दिइने र परीक्षणका क्रममा पनि हजाराैँ व्यक्तिमा खोप दिइएकाले संक्रमणको जोखिम घट्दै जाने आशा गरिएको छ ।
FACEBOOK COMMENTS