काठमाडौं, मंसिर २५ – नेपालगञ्ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरेर एकै साथ ६ वटा विमानलाई पार्किङ गर्न सक्ने बनाइएको छ। पार्किङस्थल विस्तारपछि एटिआर ७२ देखि एयरबस ३२० सम्मका विमानहरू पार्किङ गर्न सहज हुनेछ। २८ करोड ५३ लाख लागतमा पार्किङस्थल विस्तार कार्य सम्पन्न भएको हो।
पार्किंङस्थलको विस्तारसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्नका नयाँ मास्टर प्लान (गुरु योजना ) स्वीकृत गरी ४ अर्बको लगानीमा अत्याधुनिक सुविधासम्पन्न नयाँ टर्मिनल भवन र रनवे विस्तार कार्य सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयका प्रमुख प्रेम नाथ ठाकुरले बताए।
नेपाल सरकारले नेपालगञ्ज र बिराट नगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ नेपाल सरकारले मास्टर प्लान स्वीकृत गरेको हो।
नेपालगञ्ज विमानस्थलको रनवे (धावन मार्ग) को लम्बाइ १ हजार ५ सय २४ मिटर र चौडाइ ३० मिटर छ। २०७७ फागुनसम्ममा थप २०० मिटर धावनमार्ग विस्तारको काम सम्मन्न गरेर १ हजार ७ सय २४ मिटर पुराइने गरी काम भइरहेको छ।
नेपालगञ्ज विमानस्थलमा हाल उडान भइरहेका एटिआर सेभेन्टी टु (ATR 72) र सिआरजे ७०० (CRJ 700) विमानका लागि पनि १ हजार ७ सय मिटर लामो रनवे आवश्यक पर्छ। सहज रुपमा ATR ७२ र CRJ ७०० विमानहरुको उडान र अबतरणका लागि पनि रनवे विस्तार आवश्यक रहेको प्रमुख ठाकुरले बताए।
हाल नेपालगञ्ज विमानस्थलबाट दैनिक ४० वटा सरदर उडान हुँदै आएको छ। नेपालगञ्ज विमानस्थलबाट दैनिक करिब १ हजार ५ सय यात्रुले हवाई यात्रा गर्दै आएका छन्। नेपालगञ्ज विमानस्थलको नयाँ माष्टर प्लानअनुसार स्तरवृद्धिका लागि थप १ सय बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ। हाल नेपालगञ्ज विमानस्थलको क्षेत्र १ सय ६६ बिघा छ।
FACEBOOK COMMENTS