काठमाडाैं, मंसिर २५ – कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक अप्ठ्याराहरू कम गर्न जापान सरकारले ७३६ खर्ब येन (७ खर्ब ७ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त आर्थिक प्याकेज ल्याउने भएको छ । सरकारले सो रकम बराबरको अतिरिक्त प्याकेज तयार पारेको प्रधानमन्त्री योसिहिदे सुगाले जानकारी गराएका छन् ।
सरकारले रोजगारी जोगाएर, व्यवसायहरू चलायमान बनाइराखेर अर्थतन्त्रलाई ब्यूँत्याउँदै आर्थिक वृद्धिको मार्ग प्रशस्त गर्ने सरकार र सत्तारुढ दलहरूसँगको एक बैठकमा सुगाले भनेका छन् । आफूहरूले डिजिटल प्रविधि आदिको समेत प्रवद्र्धन गर्ने उनको भनाइ छ । सो स्टिमुलस प्याकेज मन्त्रिपरिषद्ले मंगलबार पारितसमेत गरेको छ । यो प्याकेजको वास्तविक वित्तीय खर्च करिब ४०० खर्ब येन छ । यसमा घरेलु यात्रा र निजी खपत बढाउनुको साथै कम्पनीहरूलाई रोजगारी टिकाउन मद्दत गर्ने खालका कार्यक्रम विस्तार पनि समाविष्ट भएको सरकारी अधिकारीहरूले बताएका छन् । सो रकम आगामी मार्चसम्म चल्ने चालू आवको तेस्रो पूरक बजेटबाट पूर्ति गरिने भएको छ ।
पूरक बजेट यही महीनाको अन्त्यमा मन्त्रिपरिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ । सुगाले मध्य सेप्टेम्बरमा प्रधानमन्त्रीको कार्यभार सम्हाले यता कोरोना भाइरसको महामारी विरुद्धको लडाइँका लागि तयार पार्न लागिएको यो पहिलो आर्थिक प्याकेज हो ।
जापानमा कोरोना भाइरसको नयाँ संक्रमित, गम्भीर बिरामी र दैनिक रुपमा मर्नेको संख्या हालैका हप्ताहरूमा कीर्तिमानी स्तरमा पुगेकै बेलामा यो प्याकेज तयार पारिएको छ । चालू आवको अहिलेसम्मको अवधिमा महामारी विरुद्धको लडाई तीव्र पार्न जापानले ५७६ खर्ब येन बराबरको दुईवटा पूरक बजेट पारित गरिसकेको छ ।
FACEBOOK COMMENTS