काठमाडौँ, मङ्सिर २७ – बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरी सात सय ५० घरलाई लालपुर्जा वितरण गरिएको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका छ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरेको हो ।
बुधबार बुटवल वडा नं. १४ को बेलभरिया र वडा नं. १८ को मोतिपुर दुबौलीमा मात्रै करिब एक सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । यसअघि बुटवलकै वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिसकिएको छ ।
बुटवल–१४ को सेमलार बेलभरिया र मोतिपुरको दुबैलीमा बुधबार एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका ५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ । बुटवल १८ को दुबौलीमा बुधबारै ८७ वटा लालपुर्जा वितरण गरिएको थियो ।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, वडा नं. १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताए ।
ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्यय्न पूरा भइसकेको उहाँको भनाइ थियो । प्राविधिक टोलीको अध्यय्नपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीले बताए ।
सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, नगर प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्षहरु १४ का दधिराम न्यौपाने, १८ का हुमनाथ आचार्य र गोश्वारा नापी कार्यालयका टोलीप्रमुख यमप्रसाद पाण्डेसहित त्यहाँका जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा स्वास्थ्य सुरक्षाको मापदण्डसहित लालपुर्जा वितरण गरिएको थियो ।
बुटवल उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो । २०२७ सालदेखि कैयन पटक नापजाँच भएर पनि जग्गाको स्वामित्व पाउन नसकेका बुटवलका विभिन्न वडाका बासिन्दालाई जनप्रतिनिधि निर्वाचित भएसंगै नापी कार्यालयको समन्वय र सहकार्यमा लालपुर्जा वितरण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । साथै तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा विस्थापित र प्रभावित हुने घर परिवारलाई पनि अलग्गै स्थानमा व्यवस्थित गर्ने तयारी भइरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम गरिरहेको छ ।
बेलभरिया र मोतिपुरको दुबौलीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरिन् । अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताइन् ।
कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोलीप्रमुख यमप्रसाद पाण्डेले वर्षैदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए । उनले नापीका काममा सहयोग पु¥याउने जनप्रतिनिधि र वडाका अगुवा सबैलाई धन्यवाद पनि व्यक्त गरे ।
जग्गाधनी वितरण कार्यक्रममा वडा नं १४ का अध्यक्ष दधिराम न्यौपाने, वडा नं. १८ का वडाध्यक्ष हुमनाथ आचार्य, जनप्रतिनिधि गोपाल नेपाल, नागरिक अगुवा खुमराज ढकाल, कनैया थारु, नापी कार्यालयका पदाधिकारीलगायत जनप्रतिनिधि तथा राजनीतिक दलका स्थानीय नेता, उपमहानगरका वडाका कर्मचारीहरुको सहभागितामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पुर्जा वितरण कार्यक्रम गरिएको थियो ।
FACEBOOK COMMENTS