काठमाडौँ, मङ्सिर २७ – आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई बोलाएको परिषद्को बैठकमा काँग्रेस सभापति देउवा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।
काँग्रेसले मङ्सिर २९ गते सरकारको विरोधमा गर्न लागेको प्रदर्शनको एक दिन अगाडी संबैधानिक परिषदको बैठक बोलाएकोप्रति काँग्रेस नेताहरुले आशंका गरेका छन् ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै काँग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलु या बाह्य कुनैपनी भेला, छलफल या बैठक, प्राथमिकतामा नरहने बताएका छन् ।
उनले भनेका छन्, ‘ काँग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलु या बाह्य कुनैपनी भेला, छलफल या बैठक, हाम्रो प्राथमिकतामा रहन्न ! मंसिर २९ मा, जुट्ने छौं हामी सडकमा, सर्वसत्तावादको विरुद्धमा !’
संबैधानिक आयोगहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग, मानवाधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी तीन दर्जनभन्दा बढी पद रिक्त छन् । नियुक्तिको विषयमा प्रधानमन्त्री ओली र देउवाबीच पटक टक भएका छलफलबाट सहमति जुट्न नसकेपछि परिषदको बैठक प्रभावित हुदै आएको छ ।
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख (हाल खाली) सदस्य रहेको संवैधानिक परिषद् रहने संबैधानिक व्यवस्था रहेको छ ।
परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान रहेकाले देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक पनि प्रभावित हुने देखिएको छ ।
FACEBOOK COMMENTS