काठमाडौं, मंसिर २७ – भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले मुलुकको समृद्धिको आधार भूमि स्रोत भएको बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगको आयोजनामा आयोजित गण्डकी प्रदेशस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच हुने समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा उनले भूमिको अधिकतम उपयोग गरी उत्पादनसँग जोडिने बताइन् ।
वैज्ञानिक भूमि सुधार व्यवस्थापनका लागि भूपयोग कानून निर्माण गरेर नयाँ जमीनको वर्गीकरण गरिने बताउँदै मन्त्री अर्यालले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै कृषि उत्पादकत्व वृद्धि गरी समृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।
भूमि तथा भूउपयोग ऐनमार्फत भूमिको नयाँ व्यवस्थापन गरिने बताउँदै उहाँले यसबाट जागिरे मानसिकतालाई तोड्दै व्यवसायी मानसिकताको विकास हुने विश्वास व्यक्त गरिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको सम्पत्ति प्रयोग गर्ने सबैको समान दायित्व भएको बताउँदै प्राकृतिक स्रोत र साधनको उपयोगमा एकरुपता हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आयोगको सक्रियताले मुलुकमा कोही पनि सुकुम्बासी नरहने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS