काठमाडौं, मंसिर २८ – बेलायतस्थित अक्सफोर्ड विश्विवद्यालय र रुसी वैज्ञानिकहरूले कोरोनाविरुद्ध छुट्टाछुट्टै विकास गरेका भ्याक्सिनहरुको मिक्स परीक्षण गरिने भएको छ। यसरी दुवै भ्याक्सिनको मिक्स परीक्षण गर्दा अझ प्रभावकारी हुन सक्छ कि सक्दैन भनेर निर्क्यौल गर्न यो परीक्षण गर्न लागिएको हो।
उस्तै प्रकारका दुवै खोपहरू मिश्रण गर्दा अझ प्रभावकारी हुनसक्ने उनीहरू अनुमान छ। रुसमा गरिने मिक्स परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन।
अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड-१९ को खोप मानिसमा सुरक्षित र प्रभावकारी रहेको देखिएको थियाे। अध्ययनकर्ताहरूले वृद्ध व्यक्तिहरूको तथ्याङ्कमा काम गरिरहेका छन् भने यूकेको नियामक संस्था एमएचआरएको अनुमतिको प्रतीक्षा पनि गरिरहेका छन्।
एस्ट्राजेनेकाले अन्य उस्तै प्रकृतिका खोपहरूसँग मिश्रण गर्दा अझ राम्रो खोप विकास हुनसक्छ कि भनेर हेरिरहेको बताएको छ।
बेलायती र रुसी खोपले उस्तै तरिकाले काम गर्छन्। यी भ्याक्सिन बेलायत, अमेरिका, क्यानडा, बहराइन र साउदी अरबका सरकारले आपत्कालीन प्रयोगको अनुमति प्रदान गरेको फाइजरको खोपले काम गर्ने तरिकाभन्दा फरक रहेको बताइएको छ।
रुस आपत्कालीन प्रयोगका लागि कोभिड खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो।
FACEBOOK COMMENTS