काठमाडौं, मंसिर २८ – धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो ।
“नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले सेवाग्राहीको समय बचत हुने आशा लिएको छु ।” यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा शुरु गरेको नगरप्रमुख व्यञ्जुले बताउनुभयो ।
सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ । नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले शुरु गरेको हो ।
FACEBOOK COMMENTS