काठमाडौं,पुस १ – न्युजिल्यान्डले अष्ट्रेलियासँग क्वारेन्टिनमुक्त ‘ट्राभल बबल’ को भ्रमण नीति स्थापित गर्न सहमति जनाएको छ । प्रधानमन्त्री ज्याकिन्डा एडर्नले २०२१ को सुरुतिरदेखि नै दुवै देशमा पर्यटकहरुलाई क्वारेन्टिनमा नबसी आवत्जावत् गर्न दिन सकिने बताएकी हुन् । तर त्यसका लागि दुवै देशको कोरोना संक्रमण अवस्था अहिलेकै जस्तो रहनुपर्ने हुन्छ ।
न्युजिल्यान्डबाट आउनेहरुलाई गत अक्टोबरदेखि नै प्रायः अष्ट्रेलियन स्टेटहरुमा बिना क्वारेन्टिन प्रवेश गर्न अनुमति दिइराखिएको थियो । तर यसमा न्युजिल्यान्ड फर्किसकेपछि भने उनीहरुले १४ दिनसम्म अनिवार्य होम–आइसोलेसनमा बस्नुपर्ने हुन्छ र केही अपवाद बाहेक अष्ट्रेलियाबाट न्युजिल्यान्ड प्रवेशमा चाहिँ अनुमति दिइएको थिएन जसले यसलाई एक पक्षीय बनाइदिएको थियो । यस्तोमा यो नयाँ ट्राभल बबल जारी भएमा अब चाहिँ दुवै देशवासीहरुले स्वतन्त्र आवत्जावत् गर्न पाउनेछन् ।
एडर्नले यो कहिलेदेखि लागू हुनेछ भन्ने निश्चित मिति तोकेकी छैनन् र पूर्ण सहमतिका लागि अष्ट्रेलियाको सरकारले पनि सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ । अष्ट्रेलियाका केही भूभागमा बाहेक यी दुवै देशमा पछिल्ला केही महिना संक्रमण दर एकदम कम छ । गत जूनमा भाइरसमुक्त भएको घोषणा गर्ने न्युजिल्यान्ड पहिलो मुलुक थियो जहाँ पूर्ण सिमाना बन्द र कडा लकडाउन पश्चात् संक्रमितको सङ्ख्या शून्य पुगेको थियो । त्यसपछिदेखि त्यहाँ थोरै सङ्ख्यामा केही बिरामीहरु मात्र भेटिएका छन् ।
यस्तै किसिमको ट्राभल बबलबारे यसअघि सिंगापुर र हङकङले पनि छलफल गरेका थिए तर अचानक संक्रमण दर वृद्धि भएपछि अहिले यो विषय स्थगित गरिएको छ ।
FACEBOOK COMMENTS