काठमाडौं, पुस १ – नाका खुलाउन माग गर्दै वीरगञ्जमा २० दिनदेखि धर्ना जारी छ । नेपाल-भारत खुला सीमा संवाद समूहमा आवद्ध मानिस सीमा क्षेत्रमा पुग्छन् । बिहान ९ बजेदेखि १० बजेसम्म धर्नामा बस्छन् ।
तर बुधबार आन्दोलनरत समूहले चक्काजाम समेत गरेको छ । चक्काजाममा टेम्पो, ई-रिक्सा चालकहरुले समेत समर्थन जनाएका छन् । शान्तिपूर्ण धर्नामा बस्दा सरकारले नसुनेकोले आन्दोलनको स्वरुप परिवर्तन गरिएको प्रदर्शनकारीको तर्क छ । शान्तिपूर्ण धर्ना बस्दा सरकारले नसुनेकोले आन्दोलनको स्वरुप परिवर्तन गरिएको संवाद समूहका कृष्ण पटेल बताउँछन् ।
सरकारले मंसिर मासन्तसम्म मात्रै नाका बन्द हुने बताएको थियो । तर आज पुस १ गतेपनि नाका खुलेको छैन । सुरक्षाकर्मीहरुले मुख्य नाका हुँदै आवागमनमा कडाइ गरेका छन् । वीरगञ्ज भन्सार कार्यालय नपुग्दै सशस्त्र प्रहरीले मोटरसाइकल, अटो रिक्सा र अन्य साना सवारी साधनलाई रोक्ने गरेको छ । सर्वसाधरण पैदल वीरगञ्ज– रक्सौल गर्छन् भने टेम्पो, अटो रिक्सा त्यहीँबाट फर्कन्छन् । मोटरसाइकल चालकहरु खेत खलियानको बाटो हुँदै रक्सौल पुगेर आउँछन् ।
संवाद समूहका संयोजक पटेल नाकाको विषयलाई सरकारले अनिर्णयको बन्दी बनाएर सीमा क्षेत्रका बासिन्दालाई दुःख दिने काम गरेको बताए । ‘भारत सरकारले नाका खोलिसकेको छ, नेपाल सरकारले मंसिर ३० गतेसम्म बन्द गर्ने भनेको थियो । आज पुस १ गते पनि नाका खुलेको छैन,’ उनले भने, ‘२० दिनदेखि शान्तिपूर्ण धनामा थियौं, नाका खोल्नुपर्नेमा सरकारले अनिर्णयको बन्दी बनाएको छ । त्यसैले आन्दोलनको स्वरुप बदलेर धर्नापछि एक घण्टा चक्काजाम समेत गरेका छौं ।’
सीमावर्ती क्षेत्रमा सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहेको र नाकामा आवागमन सहज नहुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको उनीहरुको तर्क छ । सीमावर्ती क्षेत्रमा वारिपारि विवाह समेत हुने गरेको छ । विवाहको सिजनमा सवारी आवागमन निषेध गरिएका कारण दुवै देशका नागरिकले झनै सास्ती पाएको उनीहरुले बताएका छन् ।
FACEBOOK COMMENTS