काठमाडौं, पुस १ – सरकारले देशभर पाँच लाख जनाको ‘एन्टिजेन’ विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार अर्को साताबाट देशभर नै परीक्षण सुरू गरिने जनाकारी दिए।
‘जाडो सकिएपछि संक्रमण बढ्नसक्छ। यो बीचनमा विवाह तथा भीडभाड हुने कार्यहरू भएका छन्। मानिसहरूले ध्यान दिएका छैनन्,’ उनले भने, ‘त्यसैले हामीले दुई सय भन्दा बढी केस भएका ठाउँमा व्यापक परीक्षण गर्ने तयारी गर्दैछौं।’
उनले सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयसँग परीक्षण सुरु गर्नका लागि आवश्यक छलफल चलिरहेको जनाए। आवश्यक सबै तयारी पूरा गरी आगामी साताबाट परीक्षण सुरु गरिने निर्देशक पाण्डेले बताए। उनले सुरुवाती चरणमा प्रदेशका ठूला शहरमा परीक्षण गरिने जनाए।
‘सातै प्रदेशमा उच्चस्तरीय छलफल गरी प्रदेशलाई नै परीक्षणमा परिचालन गर्ने योजना छ। जसमा पहिलो चरणमा ठूला सहरमा परीक्षण गर्छौं,’ पाण्डेले भने।
उनले देशभर पाँच लाख जनाको एन्टिजेन परीक्षण गरिने जनाए। त्यसका लागि हाल एक लाख वटा परीक्षण कीट रहेको र थप किट आउने क्रममा रहेको बताए।
महाशाखाले मंसिरको तेस्रो साता नै उपत्यकामा केन्द्रित रहेर एन्टिजेन परीक्षण सुरु गरेको थियो। तर परीक्षणमा मानिसको आकर्षण नभएको ठहर गर्दै महाशाखाले दुई दिनमै परीक्षण स्थगित गरेको थियो।
पहिलो चरणमा तीन हजार जनाको परीक्षण गर्ने भनिए पनि १५ सय जनाको मात्र परीक्षण गरियो। त्यसपछि भने थप छलफल गरेर मात्र परीक्षणलाई पुनः निरन्तरता दिने महाशाखाले निर्णय गरेको थियो।
FACEBOOK COMMENTS