काठमाडौं, पुस ३ – लक्ष्मी बैंकले एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ‘कार्ड-रहित एटीएम’ सुविधा ल्याएकाे छ । जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याएको हो ।
यससँगै अब लक्ष्मी बैंकको एटीएमबाट पैसा झिक्न बैंककाे एटीएम कार्ड नचाहिने भएको छ । यसकाे लागि बैंकको मोबाईल एपमा रहेको एक सुविधा प्रयोग गरेर सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सकिनेछ । बैंकको मोबाइल बैंकिंग एप- “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट भएपछि एटीएमबाट पैसा झिक्दा कार्ड नचाहिने भएकाे हाे । साथै, ग्राहकले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्ने बैंकले जानकारी गराएकाे छ ।
बैंकका अनुसार यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । ग्राहकले आफ्नो मोबाइल मनिमा लग-इन गर्ने बितिकै “कार्डलेस विथ-ड्र” भन्ने अप्सन देख्नेछन् र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यसपछि “कन्फर्म” गर्नका लागि आफ्नो एम-पिन वा फिंगर-प्रिन्ट स्क्यान गर्नु पर्नेछ । त्यसपछि ग्राहकले आफ्नो फोनमा (मोबाईल मनिमा दर्ता भएको नम्बरमा) “ओटिपि कोड” एसएमएसको रुपमा प्राप्त गर्ने छन् । जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओ.टि.पि. कोड केहि समयसम्मका लागि मात्र प्रयोग गर्न सकिने बैंकले जानकारी गराएकाे छ ।
यससँगै एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नु अगाडिनै ग्राहकले “कार्ड-रहित” भन्ने अप्सन देख्न सक्नेछन् । र, सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ। त्यसपछी ग्राहकले प्राप्त गरेका ओटीपी कोड र मोबाईल मनिमा अनुरोध गरिएको रकम हालेपछि ग्राहकले एटीएमबाट नगद प्राप्त गर्न सक्नेछन् । तर एटीएममा र मोबाईल मनिमा हालिएको रकम कम वा बढी हुनुहुँदैन । यसकाे मतलब बराबर हुने पर्ने छ ।
यो नौलो प्रविधिकाे फाईदा भनेको आफुले एटीएम कार्ड बोकी राख्न पर्दैन । यदी कारणबस आफ्नो कार्ड बिर्सिए तापनि स्मार्ट कार्ड-रहित एटीएम सुविधाद्वारा एटीएमबाट पैसा झिक्न सकिनेछ । र, यति मात्र नभई नेपाल भरि लक्ष्मी बैंकको एटीएमको माध्यमबाट आफुले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्ने बैंकले जनाएकाे छ । तर ओटीपी कोड पठाउँदा भने केही सावधानी अपनाउनु पर्ने हुन्छ ।
FACEBOOK COMMENTS