काठमाडौं, पुस ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै नेपाली राजनीति निकै तातेको छ । ओलीले बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गरेका हुन् ।
ओलीले संसद विघटनको सिफारिस गरेसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी गरेको बुझिएको छ ।
यसका लागि अहिले उनीहरु आन्तरिक छलफलमा व्यस्त छन् । आज स्थायी कमिटी बैठक पनि बाेलाइएकाे छ । यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय प्रजान्तत्र पार्टी ( राप्रपा)ले पनि आकस्मिक बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।
देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका देउवा सचिवालयले जानकारी दिएको छ । बैठक १ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ।
यस्तै, थापाले पनि यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । राप्रपाले दिउँसो ३ बजे बैठक बस्ने गरी पार्टी सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएको थापाले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS