काठमाडौँ, ८ पुस – महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।
धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए । तिनीहरू स्कूल पुग्न दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्दछ र उनीहरूसँग स्कुल आउँन—जानका लागि साधन छैन र उनीहरू एउटा किन्न सक्ने क्षमता पनि छैन । जोन्टा क्लब काठमाडौंले कक्षा ५ देखि कक्षा ८ सम्मका बालिकाहरुलाई श्री जनता मा.वि., कजरा, रमौल परिसरमा आज साइकल वितरण गरेको छ ।
साइकल प्राप्त गर्ने विद्यालयहरुः श्री मिथिला बेसिक स्कूल—कचुरी, श्री जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र श्री जा. रा. मा. वि. स्कूल— पूरनदाहा रहेका छन् ।
यो पहल मार्फत, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भन्नुभयो, “यी साइकलहरुले बालिकाहरूको शिक्षालाई निरन्तरता दिन मद्दत गर्नेछ । तिनीहरूले स्कूल टाँढा भएको कारणले पठनपाठन छोड्नु पर्ने छैन । हामी सबै बालिकाहरूले शिक्षामा समान अवसर पाएको हेर्न चाहन्छौं ।”
जोन्टा क्लब काठमाडौं जोन्टा इनटरनेशनलको छाता अन्तर्गत सन् २०१२ मा स्थापना भएको हो । यो काठमाडौंमा कानुनी रूपमा दर्ता गरिएको गैर—सरकारी संस्था हो जसले आर्थिक, शिक्षा, स्वास्थ्य सुधारको उद्देश्यका साथ युवाहरु सम्बिन्धित मुद्दाहरू तथा महिला विरुद्ध हुने हिंसामा राष्ट्रिय र स्थानीय स्तरमा सेवा र वकालतमार्फत महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ ।
FACEBOOK COMMENTS