काठमाडौं, पुष १४ – नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिरहेको छ।
देउवालाई भेट्न चिनियाँ टोली देउवा निवास बुढानिलकण्ठ पुगेको सभापति देउवाका सहयोगी भानु देउवाले थाहाखबरलाई बताए। उनले भने, अहिले सभापति देउवासँग भेटवार्ता भइरहेको छ।’
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको हो।
आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेट गरिसकेको छ।
चीनले नेपालको राजनीतिक घटनाक्रममा बारेमा जानकारी लिए पनि आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हिजो नियमित पत्रकार सम्मेलनमा नेपालको मामलामा कुनै हस्तक्षेप नगर्ने बताएका हुन्।
FACEBOOK COMMENTS