काठमाडौं, पौष १५ – प्रचण्डको विषयमा अधिकांश समय खर्चिएका केपी शर्मा ओलीले माधव नेपालबारे कुनै टिप्पणी नगर्ने बताएका छन् । माधवकुमार नेपाललाई प्रचण्डको कार्यकर्ता मात्र बताएका ओलीले आफू हैसियत भएकाहरुसँग मात्र जुध्न जाने टिप्पणी गरे ।
“माधव नेपालका विषयमा मलाई टिप्पणी नै गर्नु छैन । उहाँ प्रचण्डको एउटा कार्यकर्ता मात्र हो,” ओलीले भने, “म लड्नु छ भने एउटा कमजोर रोगीसँग लड्दिनँ, खेल्न जानेकैसँग लड्छु, उहाँसँग मलाई लड्नु छैन ।”
एउटा खास परिस्थितिमा नेकपाले दुई अध्यक्ष बनाएको बताएका ओलीले माधव नेपाल पदलोलुप भएको बताए । “एमालेको एउटा माओवादीको एउटा । दुईवटा आन्दोलनको व्यवस्थापनका लागि खास परिस्थितिमा दुईवटा अध्यक्ष बनाइका थियौं,” ओलीले प्रश्न गरे, “उहाँलाई त आन्दोलन गर्न पनि दुइटा-दुइटा अध्यक्ष चाहिँदो रहेछ ? न बैठकमा सभापति हुन पाउने, सभापति प्रचण्ड नै बन्नु हुने रहेछ, छेउमा बस्न पाएकै थियो, किन चाहिएको रहेछ अध्यक्ष, विचरा दु:खी मन हुनुहुँदो रहेछ माधव ।” उनले त्यही कारण माधवबारे खास टिप्पणी नभएको बताए ।
उनले माधव नेपालसँग सामान्य संस्कार र शिष्टाचारसमेत नरहेको बताए । “म अप्रेसनका लागि थाइल्यान्ड जान लागें उहाँले मरोस् भन्नुभयो, म अस्पतालमा गएर बसें अप्रेसन गरें, मर्छ भन्दै बस्नुभयो,” ओलीले भने, “उहाँहरुलाई के लाग्छ थाहा छैन मचाहिँ एकदिन मर्छु भन्ने लाग्छ ।”
FACEBOOK COMMENTS