काठमाडौं पुस १६, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको बताएका छन् । वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नु भएको पुस १६ गतेका अवसरमा सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौँ । यसका विरुद्ध देशव्यापी प्रदर्शन गरेका छौँ,’ देउवाले भने, ‘काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धनका लागि नेपाली काँग्रेस एक छ । आजको हाम्रो मुल अभिभारा यहि हो ।’
विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेस बीच मेलमिलापको मुल माध्यम लोकतान्त्रिक संविधान नै भएको उनको जिकिर छ ।
वीपी कोइरालाले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै देउवाले मेलमिलाप नीतिको मुल चुरो हिजो पनि जनता, जनताको अधिकार र लोकतन्त्र रहेको र आज पनि त्यही नै आफ्नो साझा र मुल बाटो भएको बताए ।
‘वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नु भएको थियो । जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा ०४६ सालको परिवर्तन भएको थियो,’ उनले भने ।
‘मेलमिलापको नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोज्यो, तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो,’ उनको जिकिर थियो ।
वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको स्मरण गराए ।
FACEBOOK COMMENTS