काठमाडौं, पौष १९ – टेलजीको नयाँ इलेक्ट्रिक स्कुटर ‘लियोपार्ड’ नेपाली बजारमा आएको छ। चिनियाँ विद्युतीय स्कुटर टेलजी र मोटरसाइकल जिनियसको नेपालका लागि बिक्रेता कम्पनी योम मा इ-मोटर्स प्रालिले नयाँ संस्करणको स्कुटर ‘लियोपार्ड’ सार्वजनिक गरेको हो।
२.५ किलोवाट पावरको मोटर र ३.२ किलोवाट आवरको ब्याट्रीप्याक रहेको लियोपार्ड स्कुटरले एक पटकमा १३० किलोमिटरको रेन्ज दिन सक्ने कम्पनीले जनाएको छ। फुल चार्ज गर्न ५ घन्टा लाग्ने यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एडजस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट र ठूलो अन्डर सिट स्पेस लगायतका सुविधा छ।
नयाँ वर्ष सन् २०२१ को सुरुवातलाई मध्यनजर गर्दै कम्पनीले स्कुटरको बिक्रीका लागि आकर्षक योजना लागू गरिएको जनाएको छ। लियोपार्डको खरिदमा ग्राहकले २५ हजार रुपैयाँ बराबरको छुट पाउन सक्नेछन्। यो छुट अन्तर्गत प्रत्येक ग्राहकले १५ हजार रुपैयाँ नगद र १० हजार रुपैयाँ बराबरको एसेसरिज (ब्लुटुथ हेलमेट, पिलियन ब्याक रेस्ट, फुट म्याट) पाउन सक्ने अफर छ।
‘यो स्कुटर नेपाली भूगोल सुहाउँदो डिजाइन र सुविधायुक्त छ,’ योम मा इ-मोटर्स प्रालिका सञ्चालक संजिव शिल्पकारले भने, ‘यसमा अत्याधुनिक प्रविधिसहितका सुविधा छन्। हामीले अफ्टर सेल्स सर्भिस पनि राखेका छौं।’
वातावरणप्रति सचेत सवारी प्रयोगकर्ताले मन पराउने स्कुटर ग्राहकको बजेट सुहाउँदो रहेको कम्पनीका अध्यक्ष राजेशराज कर्णीकारले बताए। ‘टेल्जीका स्कुटर नेपाली बजार सुहाउँदो मूल्य तथा अन्य कम्पनीको तुलनामा धेरै किलोमिटर रेन्ज दिने पक्का छ,’ उनले भने।

उच्चस्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको स्कुटर रातो, सेतो र सुनौलो लगायतका तीन रङमा बजारमा ल्याइएको छ। लियोपार्ड स्कुटरको नेपाली बजार मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ।

यस अघि कम्पनीले टेलजीअन्तर्गत लायोन र टाइगर लगायत दुईवटा सिरिजको स्कुटर बजारमा ल्याइसकेको छ। ‘टेल्जी लियोपार्ड’ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुन सफल विद्युतीय स्कुटर हो। टेल्जी ब्रान्डका स्कुटरको बिक्री संसारका ७७ देशमा भइरहेको छ।