काठमाडौं, पौष १९ – अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ । महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ, तर दुबै पक्षबीच गत वर्षका वार्ताहरुका आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ जसलाई सुखद मानिएको छ ।
अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिनेछन्। तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।
एक जना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, ‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौं किनभने मानिसहरु यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।’ तर तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन ।
महिनौंदेखिको ढिलाई पश्चात संघर्षरत पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा शुरु भएको थियो, तर छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो । अमेरिकी घनीभूत कुटनीतिक प्रयत्न पश्चात् दुबै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो ।
गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।
FACEBOOK COMMENTS