काठमाडौं,१९ पौष – नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ । टेलिमकले फिचर फोनमा भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भीओएलटीई) सेवा परीक्षण गर्ने भएको हो ।
त्यसका लागि टेलिकमले इच्छुक मोबाइल ब्राण्डहरुलाई सहभागी हुन आग्रह गर्दै सार्वजनिक टेण्डर जारी गरेको छ । जसमा आपूर्तिकर्ताहरुले जीएसएम फिचर फोन उपलब्ध गराउनुपर्नेछ । भने भ्वाइस ओभर एलटिईको फिचर समेत राखिएको हुनुपर्नेछ ।
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले फोरजी परियोजना अन्तर्गत नै फोरजीमा आधारित भ्वाइस सेवाको परीक्षणलाई अघि बढाएको छ ।
टेलिकमले केही दिनअघि स्मार्टफोनहरुमा विभिन्न फोरजी फ्रिक्वेन्सी ब्याण्ड परीक्षण गर्नको लागि मोबाइल ब्राण्डहरुसँग आह्वान गरेको थियो । कम्पनीले फोरजी सेवाको ८०० मेगाहर्ज ब्याण्ड, १८०० मेगाहर्ज ब्याण्डलाई ध्यानमा राखेर डिभाइसहरुमा त्यसको पहुँच र गुणस्तरको परीक्षण गर्न लागेको छ ।
नेपाल टेलिकमले प्रदान गर्ने अहिलेको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गर्दछ । टेलिकमले देशभर फोरजी विस्तार गरेसँगै त्यसको प्रयोग बढाउनका लागि विभिन्न कार्यहरु गरिरहेको छ । भ्वाइस ओभर एलटिईले उत्कृष्ट आवाज प्रदान गर्दछ ।
FACEBOOK COMMENTS