काठमाडौं, पुस २१ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले चाँडै कांग्रेससँग मोर्चाबन्दी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध कांग्रेस लगायतका दलसँग सहकार्यका लागि पहल भइरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘संयुक्त संघर्षको पहल जारी छ। कांग्रेस, जनता समाजवादी, नागरिक समाज लगायतसँग सम्भवत चाँडै मोर्चाबन्दी हुन्छ,’ उनले भने। आफ्नो पार्टीले संसद विघटन विरुद्ध सबै दलसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको भएपनि अरु दलले निर्णय गरिनसकेको उनले बताए।
उनले आन्दोलनका कार्यक्रम सशक्त तर शान्तिपूर्ण हुने समेत बताए। उनले दलको चिह्न सूर्य आफूले पाउने र संसद् पुन:स्थापना हुनेमा सय प्रतिशत नै आफू ढुक्क भएको बताए। ‘सय प्रतिशत ढुक्क छौ। दलको चिन्ह र संसद विघटन सम्बन्धिका निर्णय कानुनअनुसार हुन्छन्। यो चिह्नको कुरा होइन। कुन चाँही मूल नेकपा हो भन्ने प्रश्न छ,’ उनले भने।
प्रधानमन्त्री ओली समूहका नेतालाई समेत संसद विघटन गर्नु कानुन सम्मत होइन भन्ने थाहा भएपनि गुटबन्दीका कारण विरोधमा उत्रन नसकेको श्रेष्ठको दाबी छ। संवैधानिक निकायमा सेटिङ छ भनेर ओली समूहले नै हल्ला चालएको उनको आरोप छ। संवैधानिक निकायले निष्पक्ष छानबिन गर्दैनन् भन्नु ती निकायमाथिको अपमान भएको उनको भनाई छ।
कानुनसम्मत हुने कुरा ओलीले भ्रम छरेजस्तो नभएको भन्दै श्रेष्ठले ओलीले नै आफूहरु नागरिककहाँ जान बाध्य पारेको बताए। प्रधानमन्त्री केपीशर्मा ओली समूहका नेतालाई अझैपनि सच्चिन आफूहरुले अवसर दिएको श्रेष्ठको भनाई छ। उनले ओली विरुद्ध काउन्टर स्ट्राटेजी बनाउन आवश्यक नै नभएको बताए। ‘हामी घाम जस्तै छर्लगं छौं। काउन्टर स्ट्राटेजी बनाउनु आवश्यक छैन्। कानुनसम्मत गरिने काममा काउन्टर स्ट्राटेजी बनाउने नि होइन,’ उनको तर्क छ।
FACEBOOK COMMENTS